
उनीहरु जस्ताको बलिदानीले मुलुकमा प्रजातन्त्र हुँदै गणतन्त्र आयो तर मारिएका उनीहरु न राष्ट्रका शहीद बन्न सके न त्यहाँका बासिन्दाले विकास र समृद्धि नै पाउन सके ।
पञ्चायतविरुद्ध आवाज उठाएकै आरोपमा २०३६ साल कार्तिक २७ देखि २९ गतेसम्म धनकुटाको छिन्ताङ्गमा मच्चाइएको गोली काण्डमा जंगलमा घाँस काटिरहेका निर्दोष गाउँलेसहित काखमा बच्चा बोकेर दूध चुसाउादै गरेका आमासमेत मारिए ।
तर उनीहरुको यो बलिदानी कहिंकतै उल्लेख भएन । उनीहरुलाई न त राज्यले शहीदको दर्जा दिएको छ न त उक्त क्षेत्रको विकास र समृद्धिमै कुने योगदान ।
बरु त्यही नाममा नेताहरु चुनावी मसला बनाउँदै भोट माग्न बारम्बार धाउने गरेका छन् ।
शिक्षा, स्वास्थ्य, गतिलो सडक र अरु पूर्वाधार ब्यबस्थापन, आर्थिक सामाजिक सशक्तीकरणका साथै पिछडिएका बासिन्दाको दैनिकीमा प्रतक्ष्य फाइदा पुग्ने काम नहुँदा स्थानीयको अनुहार उज्यालिएको छैन ।
मुलुकका हरेक परिवर्तनमा अहं भूमिका निभाउने छिन्ताङवासीको जीवनमा परिवर्तन ल्याउने कुने कार्यक्रम नल्याइएकामा स्थानीय रुष्ट छन् ।
बाम र लोकतान्त्रिकका नाममा धनकुटाकै अनेक नेताले सत्ताको पोखरीमा डुबुल्की मारे पनि स्थानीयको मर्म कसैले नबुझेको गुनासो स्थानीयको छ ।
त्यसैले त यस निर्वाचनमा पनि उही पुरानै मारिएका १५ जनालाई शहीद घोषणा, शहीद परिवारलाई शिक्षा, स्वास्थ्यमा सहुलियत र रोजगारीमा अवसर दिनुपर्ने मागमै अल्झनु परेको छ छिन्ताङ्गवासीलाई ।
प्रजातन्त्रका लागि रणभूमि बनेको गाउँ चुनावका बेला नारा घन्काउँदै पुग्ने नेताको भाषण गर्ने थलोमा मात्र सीमित बनेको देख्दा छिन्ताङ्गबासीको मन कटक्क काट्छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्