
काठमाडौं, पुस ९ । नेपाली खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा प्रभावशाली प्रदर्शन गरेका छन् ।
मेलबर्न स्टार्सका खेलाडी सन्दीपले सोमबार होबर्ट हरिकन्सविरुद्ध तीन विकेट लिए ।
४ ओभर बलिङ गर्दै उनले २४ रन दिएर तीन विकेट लिएका हुन् ।
यसअघि, सिड्नी थन्डरविरुद्धको खेलबाट बिग बास लिगमा ‘डेब्यु’ गरेका सन्दीपले आफ्नो पहिलो खेलमै दुई विकेट झारेका थिए ।
मेलबर्न स्टार्स पराजित
सन्दीपको तारिफयोग्य प्रदर्शनका बाबजुद् उनको टिम मेलबर्न स्टार्स भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
सोमबारको खेलमा मेलबर्नलाई होबर्टले ६ विकेटले हराएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
जवाफमा १५६ रनको चुनौती होबर्टले खेलमा ८ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
लगातार दोस्रो जितसँगै होबर्ट बिग बास लिग अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लगातार दुई खेल हारेको मेलबर्न भने ८ टोली सहभागी लिगको पुछारबाट दोस्रोमा छ ।
प्रतिक्रिया दिनुहोस्