
निर्वाचन आयोगले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी राजनीतिक दलका प्रतिनिधिबाट कुनै अवरोध नभए प्रत्यक्षतर्फको चार दिन र समानुपातिकको ८ दिनमा अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरेको जनाएको हो ।
आयोगले व्यवस्थापनअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फको र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना पहिले गर्ने र अन्तिम परिणाम सार्वजनिक भएपछि समानुपातिकको गणना गर्ने जनाएको छ ।
आयोगले पहिलो चरणको निर्वाचनको मतगणना २१ गते बेलुकादेखि थाल्ने र दोस्रो चरणको मतगणना सम्पूर्ण मतपेटिका सम्बन्धित ठाउँमा पुगेपछि थाल्ने जनाएको छ ।
मतगणनाकाक्रममा दलका प्रतिनिधिले मतपत्र छुन नपाउने गरी व्यवस्था मिलाइएको तथा मतगणक र दलका प्रतिनिधिबीच तारबार, जालीका साथ निश्चित दूरी राखिने आयोगले जनाएको छ ।
आयोगले थोरै मतदाता रहेका निर्वाचन क्षेत्रको मतपरिणाम २४ घन्टाभित्र आउने र धेरै मतदाता संख्या भएको क्षेत्रको मतगणनाका लागि आवश्यकताअनुसार कर्मचारी खटाउने जनाएको छ ।
यस्तै, मतगणनास्थलमा प्रवेश पाउने कसैले पनि मोबाइल, लाइटर, सलाई, एसिडजस्ता प्रज्वलनशील र घातक सामग्री लैजान नपाउने र कडा सुरक्षा चेकजाँच गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्