
शारीरिक अपांगता भएका व्यक्ति हुन् वा सपांग सबैले मतदान गर्न पाउनु पर्छ । तर, मतदानस्थल अपांगमैत्री नहुँदा अपांगता भएका मतदाताहरुलाई समस्या हुने गरेको छ ।
शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि सपांगहरुको हात लम्कनु पर्ने हो । तर, यहाँ अपांगता भएका व्यक्तिहरुलाई राष्ट्रले नै बेवास्ता गरेको गुनासो अपांगता भएका व्यक्तिहरुको छ ।
दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन हुन केही दिनमात्र बाँकी रहँदासम्म पनि अपांगता भएका व्यक्तिहरुले मतदाता शिक्षा पाउन सकेका छैनन् ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा शारीरिक अपांगता भएकाहरु कुल जनसंख्याको १ दशमलव ९४ प्रतिशत छन् । त्यसमध्ये ९४ हजार ७६५ जना दृष्टिविहीनहरु छन् भने ९ हजार ४३६ जना श्रवणशक्ति कमजोर भएका अपांग व्यक्तिहरु छन् ।
अरु अपांगता भएका व्यक्तिहरुलाई मतदानस्थलसम्म पुर्याउनसके सहजै मतदान गर्न सक्छन् । तर, दृष्टिविहीन र श्रवणशक्ति नभएकाहरुमा भने यो सम्भवै छैन ।
मतदान केन्द्रहरु अपांगमैत्री नहुँदा मतदान गोप्य हुने भएपनि आफूहरुले गरेको मतदान गोग्य नहुने दृष्टिविहीनहरुको गुनासो छ ।
उनीहरु मतदान अधिकृत वा आफ्नो परिवारको कोही सदस्यको सहयोगमा मतदान गरे पनि आफूले चाहेको व्यक्तिलाई मत दिने हो कि होइन भन्नेमा आफूहरु विश्वस्त छैनन् ।
अरु देशमाजस्तै यहाँ पनि अपांगमैत्री संरचाहरुको निर्माण गरिदिए आफूहरुलाई सहज हुने दृष्टिविहीनहरुको भनाइ छ ।
नेपालको संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेपनि राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकारकाबारेमा बेवास्ता गरेको राष्ट्रिय अपांग महसंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीको गुनासो छ ।
अपांगता भएका व्यक्तिहरुमध्ये पनि दृष्टिविहीनका लागि मतदान केन्द्रसम्म पुग्न र मतदान गर्न समस्या छ । तर, सरकारले कुनैपनि स्थानमा दृष्टिविहीनलाई प्राथमिकतामा राखेर मतदान केन्द्र नबनाएको सुवेदीले बताए ।
मतदान केन्द्रहरु अपांगमैत्री नबन्दा र मतदाता शिक्षा नै नपाएकाले धेरै दृष्टिविहीन मतदाताहरु मतदान गर्नबाट बन्चित हुनुपरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्