१ असार २०८२, आइतबार | Sun Jun 15 2025


रूपन्देहीमा निर्वाचनको तयारी पूरा, संखुवासभाको मतगणना स्थलमा तारजाली


0
Shares

प्रतिनिधि सभातर्फ ५ र प्रदेश तर्फ १० क्षेत्र रहेको रूपन्देहीमा चुनावका लागि ४ हजार ७ सय ८४ कर्मचारी खटिएका छन् । सबै कर्मचारी मतदान स्थलमा पुगेर काम गरिरहेका छन् ।

सबै तयारी सकेर मतगणनास्थल र मत भण्डारणस्थल निर्माण गर्ने मतगणना स्थलमा सीसी क्यामेरासमेत जडान गरिएको मूख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए ।

रूपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् । २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदानस्थल रहेको रूपन्देहीमा मतदातालाई परिचय पत्र वितरण गर्ने काम भैरहेको छ ।

भारतसँग सीमा जोडिएकाले सुरक्षा ब्यवस्था कडा पारिएको छ । तर मतदाता शिक्षा यस पटक पनि प्रभावकारी हुन नसकेको गुनासो मतदाताले गरेका छन् ।

त्यस्तै यता, संखुवासभामा पनि मतगणनाको सबै तयारी पूरा भएको मूख्य निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिको हलमा तार जालीले मत गणनास्थल घेरिएको मूख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए ।

गणना बिहीबार बेलुका ५ बजेबाट सुरु गर्ने र मतको सुरक्षाका लागि कर्मचारी तार जालीभित्र र दलका प्रतिनिधि तार जाली बाहिर बस्ने ब्यवस्था गरिएको बताए ।

प्रदेश र प्रतिनिधिसभाको तीन स्थानमा छुटाछुट्टै गणना गरिने छ । मतपेटिका राखिएको स्थानमा चारैतिर सिलबन्दी गरिएको छ ।

त्यसबाहेक सिसी क्यामरा, सशस्त्र प्रहरी र जनपथ प्रहरीले कडा सुरक्षा दिइएको छ ।

एक प्रतिनिधि र दुई प्रदेशसभाका लागी ६९ हजार १ सय जनाले मतदान गरेका थिए ।