१ असार २०८२, आइतबार | Sun Jun 15 2025


पहिलो चरणको निर्बाचनको मतगणना बिहीबार साँझ ५ बजेबाट थालिने


0
Shares

यसका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मतदान गरिएको थियो ।

दोस्रो चरणको निर्वाचन नगर्दासम्म गणना गर्न प्राविधिक कठिनाई हुने भएपछि आयोगले मतपेटिका भने उच्च सुरक्षा घेराभित्र राखेको छ ।

गणनामा कुनै गडबडी हुन नदिन निर्वाचन कार्यालय मतगणना स्थलमा तारजाली लगाउनेदेखि उम्मेदवारका प्रतिनिधिहरुलाई निगरानी गर्नेसम्मका सबै तयारी गरिएको छ ।

यस क्रममा दलका प्रतिनिधिले मतपत्र छुनसम्म पाउने छैनन् भने मतगणक र दलका प्रतिनिधिबीच तारबार, जालीका साथ निश्चित दूरी राखिने छ ।

गणनास्थलमा प्रवेश पाउनेले पनि मोबाइल, लाइटर, सलाई, एसिड जस्ता प्रज्वलनशील र घातक सामग्री लैजान पाउने छैनन् ।

आयोगले भने प्रत्यक्षतर्फको चार र समानुपातिकको आठ दिनमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको जनाएको छ ।

प्रतिनिधि र प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको मत गणना पहिले गर्ने र परिणाम सार्वजनिक भएपछि मात्र समानुपातिकको गणना गर्ने जनाएको छ ।

पहिलो चरणको मत गणना बिहीबार बेलुकीबाटै थालिएपनि दोस्रो चरणको मतगणना भने सबै मतपेटिका सदरमुकाममा संकलन गर्नेवित्तिकै थालिने आयोगले जनाएको छ ।

थोरै मतदाता रहेको निर्वाचन क्षेत्रको परिणाम २४ घण्टाभित्र आउने तथा धेरै मतदाता भएको क्षेत्रको मत गन्न थप जनशक्ति खटाइने आयोगले जनाएको छ ।