
यो प्रदेशका निर्वाचन हुने जिल्लाहरु कैलाली, कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका सहित कर्मचारी पुगेको र सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउनका लागि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव नेपालले जानकारी दिए । सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले कुनै पनि अप्रिय घटना हुन नदिने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी मतपेटिकाको भरपूर सुरक्षा गर्ने गरी सुरक्षाकर्मी तैनाथ गरेको प्रष्ट पारे ।
उनका अनुसार पहाडी जिल्लाका हरेक निर्वाचन क्षेत्रमा नेपाली सेनाको मेजरको कमाण्डमा नेपाली सेनाको टोली, प्रहरी उपरीक्षकको कमाण्डमा नेपाल प्रहरी टोली र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
यसैगरी, टोलीसँगै तालिम प्राप्त कुकुर र नेपाली सेनाको बम डिस्पोजल टिम राखिएको छ ।
तराईका जिल्ला कैलाली, कञ्चनपुरमा भने वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा मेजरको कमाण्डमा नेपाली सेना तैनाथ गरिएको उनले बताए ।
आवश्यकताअनुसार सुरक्षा जनशक्ति थप गर्नका लागि नेपाली सेनाको प्लाटुन तयारी अवस्थामा राखिएको अतिरिक्त प्रहरी महानिरीक्षक नेपालले जानकारी दिए ।
निर्वाचन सुरक्षालाई नै मध्यनगर गरेर सोमबार बेलुकी ५ बजेदेखि मङ्सिर २१ गतेका बेलुकी ५ बजेसम्मका लागि भारतसँगको सिमाना र यहाँ रहेको २३ वटै नाका सिल गरिएको छ । सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेकाले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सुरक्षा निकायले मतदाताहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्