१ असार २०८२, आइतबार | Sun Jun 15 2025


दाहाल र पाण्डेले कहाँबाट गर्दैछन् मतदान ?


0
Shares

निर्वाचनका लागि ३ हजार २६४ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।

कुल १६१ मतदानस्थलमा ४०८ मतदान केन्द्र रहेको चितवनमा प्रत्येक केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुईजना कार्यालय सहयोगी गरी ८ जनाको संख्यामा कर्मचारी खटिएका छन् ।

चितवनमा सुरक्षाकर्मीबाहेक कर्मचारीमात्र ३ हजार २६४ जना निर्वाचनमा खटिएका हुन् ।

प्रतिनिधिसभातर्फ तीनओटा र प्रदेशसभातर्फ ६ ओटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।

चितवनबाट पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरुले मतदान गर्दैछन् ।

दुईपटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर–३ का उम्मेदवार पुष्पकमल दाहालले पनि चितवनबाटै मतदान गर्दैछन् ।

दाहालले भरतपुर महानगरपालिका वडा नम्बर–१४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गर्दैछन् ।

यस्तै, चितवन क्षेत्र नम्बर–३ बाटै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार, वन तथा भू–संरक्षणमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिका वडा नम्बर–२७ स्थित जानकी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दैछन् ।

यसैगरी, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

उनले आफैंलाई भने भोट हाल्न पाउने छैनन् । उनी चितवन क्षेत्र नम्बर–२ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । उनले मतदान गर्ने स्थान क्षेत्र नम्बर–१ मा पर्दछ ।

यस्तै, पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले भरतपुर महानगरपालिका वडा नम्बर–२६ स्थित आदर्श माध्यमिक विद्यालय दिव्यनगर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर–५ स्थित भन्डारा हेल्थपोस्ट मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–१ बाट निर्वाचत पाण्डे यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

यसैगरी, पूर्वशिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता धनीराम पौडेलले माडी नगरपालिका वडा नम्बर–५ स्थित रमाइलोडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

यस्तै, निवर्तमान सांसद तथा प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर–२ बाट वाम गठबन्धनका साझा उम्मेदवार कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिका वडा नम्बर–१० स्थित नारायणी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालीन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

यस्तै, माओवादी केन्द्रका नेता रामबहादुर थापाले पनि भरतपुर महानगरपालिका वडा नम्बर–१० स्थित नारायणी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

यसैगरी, लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले राप्ती नगरपालिका वडा नम्बर–८ बज्रहठी आवि मतदान केन्द्रबाट मतदान गर्दैछन् ।