२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


स्व. राजा वीरेन्द्रको सम्पत्ति अझै खोजिँदै, ५७ करोड रुपैयाँ उपयोगविहीन (भिडियो)


0
Shares

मीरा बस्नेत/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असार १५ । स्व. राजा वीरेन्द्र शाह र उनको परिवारका नाममा रहेका थुप्रै चल–अचल सम्पत्ति नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको छ ।

ट्रष्ट अझैपनि सम्पत्तिको खोजबिनमा लागिपरेको छ । तर, उपयुक्त कार्यविधिको अभावमा ट्रस्टको नाममा जम्मा भएको ५७ करोड रुपैयाँको सदुपयोग हुन सकेको छैन ।

नेपाल ट्रष्टको कार्यालयले हालसम्म स्व. राजा वीरेन्द्र शाहको नाममा रहेको २१ हजार ५६३ रोपनी जग्गा फेलापारेको छ ।

ट्रष्टको कार्यालयले स्व. राजा वीरेन्द्रको नाममा १२ जिल्लामा जग्गा रहेको पनि जनाएको छ ।

स्व. राजा र उनको परिवारका नाममा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटामा जग्गा भेटिएको छ । ती जग्गा ट्रष्टले आफ्नो स्वामित्वमा लिइसकेको छ ।

जग्गाबाहेक स्व. राजा वीरेन्द्रको नाममा रहेको नबिल बैंक लिमिटेडको ४ लाख ३५ हजार ४१६ कित्ता सेयर, नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता सेयर, होटल अन्नपूर्णको ३० हजार ७५० कित्ता सेयर ट्रष्टको नाममा आइसकेको छ ।

वि.सं. २०६४ मंसिरमा स्थापना भएको ट्रष्टले स्थापनाको पहिलो वर्षमा ८३६ रोपनी जग्गा फेलापारेको थियो । तर, पछि छानबिन हुँदै जाँदा थप जग्गा फेलापरी हाल २१ हजार ५६३ रोपनी जग्गा ट्रष्टको नाममा आइसकेको छ ।

नेपाल ट्रष्टका सहसचिव यदुप्रसाद पन्थीले ट्रष्टकै नाममा कति जग्गा आउन बाँकी छ ? भन्नेचाहिँ खुलाएनन् ।

ट्रष्टले आफ्नो स्वामित्वमा रहेका जग्गा र भवनहरु भाडामा दिएको र बाँकी सम्पत्तिको पनि खोजी प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।

हालसम्म ट्रष्टको कोषमा ५७ करोड रुपैयाँ जम्मा भएको छ । पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितमा लगानी गर्नसकिने व्यवस्था रहेको ट्रष्टले जनाएको छ ।

ट्रष्टले संकलन गरेको रकम हालसम्म खर्च नभएकाले कार्यविधि बनाएर अगाडि बढ्ने सहसचिव पन्थीले बताए ।

स्व. राजा वीरेन्द्र र उनको परिवारका नाममा अझैपनि केही स्थानमा सम्पत्ति रहेको अनुमान गर्ने गरिन्छ ।

भिडियो हेर्नुहोस्