
प्रधानमन्त्रीदेखि, पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि पूर्वमन्त्री र केही चर्चित नेताहरु जनताको कठघरामा उभिएका छन् ।
मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष सुदूरपश्चिम र सुदूरपूर्व जिल्लाबाट मैदानमा रहँदा तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष भने देशको मध्य भागबाट चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिमको डडेल्धुराबाट मैदानमा रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वको झापा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मध्य नेपालको चितवनबाट प्रतिस्पर्धामा छन् ।
यसक्रममा प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुराको असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरे ।
कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका–२ स्थित सत्यवती मतदान केन्द्रबाट मतदान गर्दा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भने काठमाडौंको भ्याली स्कुल मतदान केन्द्रबाट मतदान गरे ।
एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति केन्द्रबाट मतदान गरे ।
एमालेकै वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय–९ स्थित राष्ट्रि«य निमावि मतदान केन्द्रबाट मतदान गर्दा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजानकी केन्दमा मतदान गरे ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्दा सोही दलका नेता रामबहादुर थापाले चितवनको जितपुरस्थित नारायणी नमुना माविबाट मतदान गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडास्थित बालज्योति माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको मलंगवाबाट मतदान गरे ।
यसैगरी, निकै प्रतिस्पर्धा र चर्चामा रहेका केही क्षेत्रका उम्मेदवारहरुले पनि आ–आफ्ना क्षेत्रमा मत प्रयोग गरेका छन् ।
यसक्रममा कांग्रेस युवा नेता गगनकुमारक थापाले काठमाडौंको मैतिदेवी मतदान केन्द्रबाट मतदान गर्दा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले सिरहाको चन्द्रनारायण यादव निमावि सुक्चेना केन्द्रमा पुगेर मत हालिन् ।
उपप्रधानमन्त्री एवं कांगे्रस नेता विजयकुमार गच्छदारले दुवही नगरपालिकाको भलुवा मतदान केन्द्रबाट मत हाल्दा अर्का उप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको काजीमान हरिटिका मावि मतदान केन्द्रबाट मतदान गरे ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर–१० स्थित कलवलगुडी केन्द्रबाट मतदान गर्दा अर्का नेता विमलेन्द्र निधिले धनुषाको राजेश्वर निधि मावि केन्द्रबाट मतदान गरे ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका–८ स्थित त्रिभुवन उच्च मावि केन्द्र र भीम रावलले अछामको चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रबाट मत हाले ।
एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखास्थित स्काइलार्क बोर्डिङ स्कुल, एमाले नेता सुवासचन्द्र नेम्वाङले इलामको बालमन्दिर आधारभूत विद्यालय हाकिमटोल तथा अर्का नेता डा. राजन भट्टराईले काठमाडौंको पशुपति मतदान केन्द्रबाट मतदान गरे ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुर पुगेर मतदान गरे ।
माओवादी केन्द्रका अरु नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्कस्थित रासीचौर मतदान केन्द्र, पम्फा भुसालले ललितपुरको कुपन्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरे भने मातृका यादवले धनुषाको सबैलास्थित रामप्रसाद मावि मतदान केन्द्रबाट मतदान गरे ।
प्रतिक्रिया दिनुहोस्