३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो : आयोग, दुईओटा मतदान केन्द्रमा स्थगित


0
Shares

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो । निर्वाचन आयोगले ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

कतिपय जिल्लामा ७१ प्रतिशतसम्म मतदान भएको पनि निर्वाचन आयोगले जनाएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थित दुईओटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । आयोगले उक्त केन्द्रको निर्वाचन पनि छिट्टै गराउने जनाएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत् बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।

आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपेटिका संकलन गर्ने कार्य सुरु भइसकेको र मतपेटिकाहरु संकलन पूरा हुनासाथ मतगणना सुरु हुने बताए ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी, प्रदेशसभातर्फ २ हजार ८१९ जना उम्मेदवानर प्रतिस्पर्धामा उत्रिएका छन् ।

मतदानका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

दोस्रो चरणको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता सहभागी भएका छन् ।