
कांग्रेस मनाङका सभापति एवं पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।
विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।
खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।
मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि पहिलो संविधानसभामा माओवादीका देवप्रसाद गुरुङबाहेक अन्य सबै निर्वाचनमा कांग्रेसले जित्दै आएको थियो ।
प्रदेश सभा ‘क’ मा कांग्रेस, ‘ख’ मा स्वतन्त्रका मनाङ्गे निर्वाचित
नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा ‘क’ बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो ।
प्रदेश सभा (ख) मा दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित भएका छन् ।
उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।
एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् ।
जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिस गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्