भक्तपुर–२ मा विवादका कारण मतगणना सुरु हुन सकेन • Image Khabar Image Khabar


भक्तपुर–२ मा विवादका कारण मतगणना सुरु हुन सकेन


Imagekhabar
२२ मंसिर २०७४, शुक्रबार १४:३६

भक्तपुर–२ मा विवादका कारण मतगणना सुरु हुन सकेन

भक्तपुर, मंसिर २२ । भक्तपुर क्षेत्र नम्बर–२ मा विवादका कारण मतगणना कहीले सुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।

शुक्रबार बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।

डेढ घन्टा लामो सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए ।

उनले भने–‘बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्‍यो, घाइतेको उपचार हुनुपर्‍यो, घटनाको मुद्दा दर्ता हुनुपर्‍यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुपर्‍यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिँदैनौं, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिँदैनौं ।’

यता, वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेको छ ।

वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउँदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए ।

उनले भने–‘घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुँदैन, मतगणना सुरु हुनुपर्छ ।’

निर्वाचन अधिकृत उत्तम सिलवालले भने सर्वदलीय बैठकमा छलफल भएपछि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना सुरु हुने दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस्