
१० ओटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।
प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । उनलाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर–२ मा नेकपा एमालेका माधवकुमार नेपालले अग्रता लिँदा नेपाली कांग्रेसका दीपक कुइँकेलले पछ्याउँदैछन् ।
काठमाडौं क्षेत्र नम्बर–४ मा नेकपा एमालेका राजन भट्टराईले प्रारम्भिक अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका गगनकुमार थापाले पछ्याइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर–५ मा नेकपा एमालेका ईश्वर पोखरेलले प्रारम्भिक अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका प्रकाशशरण महतले पछ्याउँदैछन् ।
त्यसैगरी, काठमाडौं–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितले पछ्याउँदैछन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१, २, ३ र ४ को मतगणना राष्ट्रियसभागृहमा भइरहेको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर–५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नम्बर–९ र १० को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना भइरहेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नम्बर–८ को वन परिसर बबरमहलमा मतगणना भइरहेको छ ।
काठमाडौंमा प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपछिमात्रै प्रदेशसभा सदस्यको मतगणना गर्ने सहमतिसमेत भएको छ ।
हाल मतगणना भइरहेको ललितपुर क्षेत्र नम्बर–२ मा एमाले र ३ मा कांग्रेसले सुरुआती अग्रता लिएका छन् ।
ललितपुर क्षेत्र नम्बर–२ मा एमालेका कृष्णलाल महर्जनले अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले पछ्याउँदैछन् ।
ललितपुर क्षेत्र नम्बर–३ मा कांग्रेसका मदन अमात्य अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याउँदैछिन् ।
ललितपुर क्षेत्र नम्बर–१ को मतगणना भने अझै सुरु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्