२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निकुञ्ज आसपासका क्षेत्रमा ‘एक घर, एक कठ्ठा तरकारी खेती’ (भिडियो)


0
Shares

अनिल तिवारी

वीरगन्ज, पुस ८ । नेपालका धेरै घर परिवार अझै पनि जीविकोपार्जनका लागि वनजंगलमै आश्रित छन् । अव्यवस्थित रुपमा वनजंगलमाथिको दोहनले वनजंगल र वन्यजन्तु संकटमा पर्दै गएका छन् । यही अवस्थालाई मनन् गरी पर्सा राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासी सामूहिक तरकारी खेतीमा लागेका छन् । जसले एकातिर उनीहरुको आयआर्जनको स्रोत बलियो बन्दै गएको छ भने अर्कोतिर वनजंगलमाथिको निर्भरता पनि घट्न थालेको छ । 

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका मकवानपुरकोे प्रतापपुर गाउँ र पर्साको सुवर्णपुर गाउँका स्थानीयको आर्थिक अवस्था सुधार्न र जंगलमाथिको अत्यधिक निर्भरता घटाउन ‘एक घर, एक कठ्ठा तरकारी खेती’ भन्ने कार्यक्रम अनिवार्य गरिएको छ । त्यसको लागि विश्व वन्यजन्तु कोष र तराई भूपरिधि कार्यक्रमले सहयोग गरेको छ । सो अन्तर्गत मकवानपुर मनहरी गाउँपालिकाको प्रतापपुरका १२५ परिवार र पर्सा ठोरी गाउँपालिकाको सुवर्णपुरका ३२ घरपरिवार अहिले तरकारी खेतीमा संलग्न रहेको तराई भूपरिधि कार्यक्रमका सहजकर्ता श्रीकृष्ण चौधरी बताउँछन् ।

आर्थिक रुपमा विपन्न परिवारलाई आयको वैकल्पिक स्रोतको रुपमा तरकारी खेतीमा प्रोत्साहित गरी पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट हुने चोरी निकासी रोक्न यो कार्यक्रम ल्याइएको हो । सामुहिक खेतीले यी गाउँ अहिले अर्ग्यानिक तरकारीको लागि प्रसिद्ध बनेका छन् । भन्टा, सिमी, खुर्सानीलगायतका अग्र्यानिक तरकारी आजभोलि दैनिक १ ट्रकको परिमाणमा राजधानी पु¥याइन्छ । तरकारी खेतीबाट महिनामा ३० देखि ४० हजार रुपैयाँसम्म आर्जन गरिरहेको प्रतापपुरका किसान बताउँछन् ।

आय आर्जनको अन्य श्रोत नभएकाले जीविकोपार्जनका लागि वनमै आश्रित  रहँदै आएका थिए । वनलाई जोगाउन सीमावर्ती भारतीयहरुसँग पनि संघर्ष गर्नुपरेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालको भनाइ छ ।

जैविक विविधता र प्रकृतिको संरक्षण गर्दै विकास र निर्माणका कार्यहरु अगाडि बढाएमात्र हाम्रो जीवनमा सन्तुलित परिवर्तन आउँछ । मानव समुदाय सम्पूर्ण प्राणीमा विवेकशील र शक्तिशाली भएकाले प्रकृतिको संरक्षण गर्नु पनि उसकै कर्तव्य हुन आउँछ ।

भिडियो हेर्नुहोस्