
बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले बालकोट घटनाको छानबिन गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, सिसा फुटेको घरको क्षतिपूर्ति दिनुपर्ने माग राखेपछि मतगणना सुरु हुन सकेको थिएन ।
शुक्रबार दिउँसो दुईपटक प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा बसेको बैठक सहमतिमा पुगेपछि साँझ ५ः३० बजेदेखि मतगणना सुरु भएको हो ।
प्रजिअ पोखरेलले भने–‘कांग्रेसलगायत दलसँग भएको बैठकमा घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने सहमति भयो, त्यसपछि साँझदेखि मतगणना सुरु भयो ।’
निर्वाचन अधिकृत उत्तम सिलवालले प्रतिनिधिसभाको दुई स्थान र प्रदेशसभातर्फ ‘क’ र ‘ख’को छुट्टाछुट्टै गरी चार स्थानमा शान्तिपूर्णरुपमा मतगणना सुरु भएको बताए ।
यसअघि, नेकपा एमालेका कार्यकर्ताले गणनास्थल अगाडि छिटो मतगणनाको माग गर्दै नाराबाजी गरेपछि दुई पक्षबीच झडप भएको थियो ।
भक्तपुर–१ मा कांग्रेसको अग्रता
भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका बाबुराजा जोशीले एक हजार १५१ मतका साथ अग्रता लिएका छन् भने वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मिलन सुवालले ९५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट एमालेका हरिशरण लामिछानेले ४७१ र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका जीवन खत्रीले ३२२ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘ख’मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले ७९८ र वाम गठबन्धनका रोमन शिलाकारले २९० मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्