२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


तेह्रथुममा मतगणनामा यसकारण भयो ढिलाइ


0
Shares

जिल्लाका ८९ मतदान केन्द्रमा विहीबार मतदान भएपनि सदरमुकाम म्याङलुङसम्म मतपेटिकाहरु ढुवानी गरेर ल्याउन ढिलाइ भएपछि मतगणना ढिलोगरी सुरु हुन लागेको हो ।

दोस्रो चरणमा बिहीबार भएको मतदानपछि म्याङलुङ, लालीगुराँस, छथर र मेन्छ्यायेम गाउँपालिकाका मतपेटिकाहरु सदरमुकाम ल्याएको थियो ।

तर, आठराई र फेदाप गाउँपालिकाका मतपेटिकाहरु भने शुक्रबारमात्रै सदरमुकाम ल्याइएको छ ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गको ट्रयाक भएर बसमार्फत् मतपेटिकाहरु शुक्रबार साँझ ५ः०० बजेमात्र सदरमुकाम ल्याइएको थियो ।

६ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएपनि दलहरु ढिलागरी पुगेपछि झनै ढिला भयो ।

मंगोल नेसनल अर्गनाइजेसन, संघीय समाजवादी फोरम नेपाललगायत साना दलहरुले शनिबार बिहानदेखिमात्रै मतगणना गर्नुपर्ने भन्दै विवाद झिकेका थिए ।

तर, लोकतान्त्रिक र वाम गठबन्धनले शुक्रबार रातिदेखि नै मतगणना सुरु गर्ने भनेपछि राति ९ः३० बजेबाट मतगणना गर्ने सहमति जुटेको छ ।

सदरमुकाम म्याङलुङस्थित सिंहबाहिनी माविमा मतगणनाका लागि आवश्यक प्रबन्ध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा एकैपटक चार ठाउँमा मतगणना गर्ने सहमति भएको छ ।

जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईकाअनुसार भौगोलिक विकटताका कारण मतपेटिकाहरु ढुवानीमा ढिलाइ हुँदा मतगणनामा ढिलाइ भएको हो ।

कुल ६६ हजार ६६७ मतदाता रहेको तेह्रथुममा ८९ ओटा मतदान केन्द्रबाट ४४ हजार २१५ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये २१ हजार ३२० पुरुष र २२ हजार ८९५ जना महिलाले मतदान गरेका छन् ।