२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


प्रहरीको फरार सूचीमा रहेका चौधरी मतगणनामा अगाडि


0
Shares

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाएका छन् ।

चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन् ।

उनले आफ्ना समर्थकमार्फत् सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत् चुनावी प्रचार गरेका थिए ।

यो क्षेत्रको प्रदेशसभा ‘क’र ‘ख’मा भने नेपाली कांग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन् ।

यता, कांग्रेस नेत्री डा. आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर–५ को जारी मतगणनामा एमालेका उम्मेदवार नारदमुनि रानाले आफ्नो अग्रता कायम राखेका छन् ।

शनिबार साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा कांग्रेसका डा. आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहेकी छन् ।

यो क्षेत्रमा खसेको कुल मतको शनिबार साँझसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । झन्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा ‘ख’मा कांग्रेसका डिल्लीराज पन्त अगाडि रहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–२ मा रोचक प्रतिस्पर्धा
कैलाली–२ को प्रतिनिधिसभा सदस्यको मतगणनामा कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पीए) रहेका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि परेका छन् ।

हालैमात्र एमालेबाट कांग्रेस प्रवेश गरेर टिकट पाएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर–३ को पछिल्लो मतगणनामा माओवादी केन्द्रका गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उनलाई पछ्याइरहेका छन् । पूर्वमन्त्रीसमेत रहेका यी दुवैजनाबीच कडा टक्कर रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली कांग्रेसका सुनीलकुमार भण्डारीले ६ हजार ४४६ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । रासस