२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


परिवारका ‘जन्तरे’ झलनाथ खनालले पाँचौ पटक बाजी मारे


0
Shares

खनालले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका हुन् । खनालले ३६ हजार ८०७ मत प्राप्ति गरेका छन् भने उनका प्रतिद्धन्दि कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरेका छन् ।

खनालले २०४७ सालको संसदीय निर्वाचनमा इलामबाट निर्वाचित भएर विजय यात्रा सुरु गरेका थिए । २०५१ सालको मध्यवाधि निर्वाचनमा खनाल पुनः संसद सदस्यमा इलामबाट निर्वाचित भए ।

२०५६ सालमा नेपाली काग्रेसका नेता वेनुपराज प्रसाईसंग पराजित खनालले २०६४ र २०७० को निर्वाचनमा विजय हासिल गरेका थिए । यस पटक उनले आफ्नो प्रतिस्पर्धी नै नभएको प्रतिकृया दिदैं आएका थिए ।

२००६ साल चैत ६ गते इलामको साँखेजुङमा जन्मिएका खनाल पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तान हुन् ।

बाल्यकालमा घर परिवारले ‘जन्तरे’ भनेर बोलाउने खनाल विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिवसम्म भएका थिए ।

२०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै खनाल २०६६ सालको बुटवल अधिवेशनपछि एमालेको अध्यक्ष भए ।

पार्टी अध्यक्ष भएपछि खनाल २०६७ माघ २० मा प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए । खनाल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र इतिहासमा स्नातक हुन ।

उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।

कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे ।

राजनैतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा उनले केही समय जागीरे जीवन बिताए ।

उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष पनि भए । राजनीतिमा संलग्न भएकै कारण उनले जागीर पनि गुमाए ।

खनाल २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत १४ महिना जेल परे । राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि उनी ६ महिना जेल परे ।

जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका खनाल २०३३ सालमा झापामा पक्राउ परे ।

खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए । पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए ।

झापा विद्रोहपछि उनी २०३१ सालमा गठित ’क्रान्तिकारीहरूको संगठन’ को ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए ।

२०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए ।

२०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि खनालको नेतृत्वदायी भूमिका थियो । त्यसयता नेकपा एमालेको पाँचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर उनले काम गरे ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेले पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि सो जिम्मेवारी खनालले सम्हाले ।

उनी २०६६ सालमा बुटवल महाधिवेशनबाट अध्यक्ष भए । जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए ।

२०४९ सालको एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित भयो । खनालले जबजलाई ’दक्ष प्रजापतिको टाउको’ भनेर गरेको टिप्पणी निकै चर्चित भएको थियो ।

०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए । २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी केही समय भूमिगत भए ।

खनालले अब सबै दललाई मिलाएर मुलुकको समृद्धिको यात्रामा लग्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उनको विजयको घोषणा गरेको छैन ।