२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


नुवाकोटमा कांग्रेस ‘पत्तासाफ’, सबै स्थानमा वाम विजयी


0
Shares

आइतबार अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने (प्रतिनिधिसभा) प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले ३६ हजार ४७३ र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरे ।

वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा. महतले तामाङलाई पराजित गरेका थिए ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे ।

यस्तै, प्रतिनिधिसभा सदस्य–१ प्रदेश ‘क’मा नेकपा माओवादी केन्द्रका राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

यस्तै, प्रदेश ‘ख’मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम् प्रतिस्पर्धी बने ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’मा एमालेका केशवराज पाण्डेले २० हजार ९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरे ।

प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरे ।

यसअघि, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीनओटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका थिए । रासस