
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नम्बर–१ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गरे ।
यसैगरी, क्षेत्र नम्बर–२ बाट राजबहादुर बुढाले २३ हजार ३२३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे ।
क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व कांगे्रसका जिल्ला सभापति कृष्णकुमार विसीले ८ हजार ७६२ मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘ख’ मा एमालेका अम्मरबहादुर थापाले १२ हजार ५६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगतजंग थापाले १० हजार ५८४ मत प्राप्त गरे ।
त्यस्तै, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा एमालेका सुशील थापाले ११ हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् । उनले कांग्रेसका मधुविक्रम खनाललाई २ हजार ७८६ मतान्तरले पराजित गरेका छन् ।
प्रदेशसभा ‘ख’मा एमालेका राजबहादुर शाहीले ११ हजार ४४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिक्पाल शाहीले ८ हजार ४६६ मत प्राप्त गरेका छन् ।
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै धर्मराज रेग्मीले दैलेखको समग्र विकासमा आफ्नो योगदान हुने र वाम गठबन्धनले लिएको नीतिअनुसार जिल्ला र आफ्नो क्षेत्र समृद्धि गर्ने अभियानमा लाग्ने बताए । जिल्लाको आर्थिक अवस्था सुधार हुने, कामहरु प्रभावकारी ढंगले लागू गर्ने र आफूले कुनै पनि रकमको लोभ नगरेर जनताको हितका लागि काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
त्यस्तै, जित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं अमर थापाले आफू दैलेखको सांसद हुँदा सुरु गरेका र पूरा हुन नसकेका ठूला विकासे योजना तत्काल पूरा गर्ने, दैलेख सदरमुकाम हुँदै महावु सडकखन्डकोे निर्माण कार्यलाई तीव्रता दिने, दैलेख सुर्खेत सडकखन्ड दुई लेनको बनाउने र दैलेखको समग्र विकास आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै युवा बेरोजगारी समस्या समाधान गर्ने कार्यमा आफू लागिरहने बताए । रासस
प्रतिक्रिया दिनुहोस्