
रविन भट्टराई/ईमेज:
झापा । झापाको भद्रपुरस्थित मालपोत र नापी कार्यालयमा काम गर्न एकदमै सकस परेको गुनासो सेवाग्राहीले गरेका छन् ।
विचौलिया या कर्मचारीसँग राम्रो चिनजान नभएकाहरुलाई काम पुरा गर्न निकै समस्या पर्ने गरेको गुनासो छ ।
भद्रपुरस्थित मालपोत र नापी कार्यालयमा सेवा लिन जानेलाई मात्र थाहा छ कुनै पहुँच भएन भने सेवाग्राहीले कतिसम्म पाउनुपर्छ भन्ने ।
एकैछिनमा हुने कामका लागि घन्टौ या दिनौं पनि आलटाल गरिदिन सक्छन् ।
घरको नक्सा निकाल्न नापी कार्यालय भद्रपुर जाँदा तीनदिनसम्म आलटाल गरिदिएको झापाको बाह्रदशी गाउँपालिका–३ राजगढका भुमिराज बुढाथोकीको गुनासो छ ।
नापी कार्यालय भद्रपुरमा सेवाग्राहीको खचाखच भीड हुन्छ, दैनिक सयौंको संख्यामा नक्सा निकाल्न र मिलाउन पुग्छन् ।
तर कुनै पहुँचबिना पुग्नेलाई अनेक बहाना बनाएर ‘भोलि पर्सी आउनु’ भन्दै झुलाइन्छ । नजिकै रहेको मालपोत कार्यालयको अवस्था पनि उस्तै छ ।
यहाँका अधिकांश लेखनदासले बिचौलियाको काम गर्ने तिनको माध्यमबाट काम गराउनेलाई कर्मचारीले पनि प्राथमिकता दिने गरेको बिर्तामोडका अर्का सेवाग्राही भवानी घिमिरेको भनाइ छ ।
नापी र मालपोत कार्यलयमा ८ जना भन्दा बढी विचौलियाहरु वरपर डुलिरहने तिनीहरुलाई कामअनुसार पाँचसयदेखि पाँच हजारसम्म दिएपछि मात्र काम बन्ने संस्कार बसिसकेको उनीहरुको आरोप छ ।
त्यति मात्र होइन बिचौलिया नै कार्यालयभित्र पुगेर फाइल र ढड्डा पल्टाउनेसम्मका काम गरेको देखिन्छ ।
उता, मालोपोत कार्यालयका प्रमुख जनार्दन भट्टराई भने यस्तो दृश्य देख्दादेख्दै पनि यसलाई व्यवस्थित गर्न आफूले पहल गरिरहेको दाबी गर्छन् ।
जनताको सेवा गर्न तलब खाएर बसेका सेवाप्रदायक नै यस्ता हर्कत गरेर बसेपछि जनताले पाउनुसम्म सास्ती बेहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्