२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


चितवनमा वाम गठबन्धनको ‘क्लिन स्वीप’


0
Shares

जिल्लाका ९ ओटै क्षेत्रमा वाम गठबन्धनले ‘क्लिन स्वीप’ गर्न सफल भएको छ ।

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर–३ को मतपरिणाम सार्वजनिक भएसँगै चितवनका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ ।

चार दिन लगाएर सोमबार दिउँसो क्षेत्र नम्बर–३ बाट वाम गठबन्धनका शीर्ष नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विजयी घोषणासँगै चितवनको तीन प्रतिनिधिसभा सदस्य र ६ ओटा प्रदेशसभा सदस्यको टुंगो लागेको छ ।

अध्यक्ष दाहाल ४८ हजार २७५ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले ३८ हजार ९३५ मतमात्र प्राप्त गरे ।

विजयी सबै प्रतिनिधिहरुलाई सोमबार नै एक समारोहकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्रसमेत प्रदान गर्‍यो ।

सोक्रममा बोल्दै दाहालले वाम गठबन्धनलाई बहुमत दिलाएर ठूलो भरोसा प्रदान गरेको भन्दै राष्ट्रको एकता, जनताको स्वाधिनता र समृद्धिका निम्ति समर्पित रहने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभातर्फ चितवनका दुईओटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भए ।

चितवन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गर्दै ५१ हजार ८० मतका साथ एमाले नेता सुरेन्द्र पाण्डे विजयी भए ।

भारी मतान्तरसहित विजयी भएपछि पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले संक्षिप्त प्रतिक्रिया दिँदै स्थायी सरकार र देश समृद्धिको चाहना आमजनतामा रहेकाले सोहीअनुसार काम गरेर अघि बढ्ने बताए ।

चितवन क्षेत्र नम्बर–२ मा पनि एमालेका जिल्ला अध्यक्षसमेत रहेका कृष्णभक्त पोखरेल भारी मतान्तरसहित ४४ हजार ६७० मतका साथ विजयी भए ।

उनी यसअघि तत्कालीन चितवन क्षेत्र नम्बर–३ बाट पनि सांसदमा निर्वाचित भएका थिए ।

चितवनका ६ ओटा प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दावा दोर्जे लामा, क्षेत्र नम्बर–१ ‘ख’मा एमालेका कृष्ण खनाल, क्षेत्र नम्बर–२ को ‘क’मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ को ‘ख’मा विजय सुवेदी र ३ को ‘क’मा एमालेका कृष्ण भुर्तेल, ३ को ‘ख’मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् ।

सबै नतिजा सार्वजिनक भएसँगै वाम गठबन्धनले सोमबार नै चितवनमा बृहत् विजयीजुलुस निकालेको छ ।

यसअघि, नेपाली कांग्रेसकोसमेत प्रभाव क्षेत्रकोरुपमा लिइएको चितवनमा यसपटक वाम गठबन्धनले क्लिन स्वीप गर्न सफल भएको छ ।

भिडियो हेर्नुहोस्