
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) ले मंगलबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निष्कर्ष निकालेका हुन् ।
निर्वाचनलाई प्रभाव पार्ने प्रयासस्वरुप भएका केही घटनाका बाबजुद् समग्रमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको ती संस्थाहरुको निष्कर्ष छ ।
पत्रकार सम्मेलनमा जियोकका अध्यक्ष हिमालयशमसेर राणाले पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा पूर्णरुपमा विधिको शासन सन्चालन हुने विश्वास व्यक्त गरे ।
यसैगरी, नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचनपछि वर्षौंदेखिको राजनीतिक अभियान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
उनले लोकतन्त्रलाई दीगो बनाउन निर्वाचनमा जनताको सहभागिता उत्साहजनक देखिएको बताए ।
पर्यवेक्षकहरुले निर्वाचन शिक्षालाई भने आगामी दिनमा सुधार गरी प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
उनीहरुले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको भन्दै आगामी दिनमा सुधार गर्नसमेत सुझाव दिएका छन् ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता, राजनीतिक दल, निर्वाचन पर्यवेक्षक एवं सुरक्षाकर्मीले निर्वाचनको अवधिभर देखाएको सदासयता एवं धैर्यताका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग सफल भएको बताए ।
उनले मतदाता शिक्षा प्रभावकारी नभएको स्वीकार्दै आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
डा. यादवले विदेशमा रहेका नेपालीका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न कानुनी जटिलता रहेकाले यसबारे सरोकारवाला पक्षसँग आयोगले छलफल गर्ने जानकारी दिए ।
कार्यक्रममा निर्वाचनलाई सफल बनाउन आयोगको तर्फबाट डा. यादवले गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्