
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको सोलुखुम्बुमा वाम गठबन्धनसँग पराजित भएका कांग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ ।
समानुपातिकतर्फको मतगणना हुँदा नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसलाई १५ हजार १४८ मत प्राप्त भएको छ भने एमालेले १२ हजार ६६ र नेकपा माओवादी केन्द्रले ७ हजार ६७३ मत प्राप्त गरेका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८५, नयाँ शक्ति पार्टी ३७६, राजपा ६१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ३५ र संघीय समाजवादी फोरम नेपालले २४८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मुरारी बस्तीले जानकारी दिए ।
त्यस्तै, प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कांगे्रसलाई १३ हजार ४४७, एमालेलाई १० हजार ४५८, माओवादी केन्द्रलाई आठ हजार ३१ र नयाँ शक्ति पार्टीलाई ४०६ मत प्राप्त भएको पनि उनले जानकारी दिए ।
यसैबीच, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४ हजार ६४९ र प्रदेशसभातर्फ ६ हजार ७६३ मत बदर भएको छ । कुल ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्