२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


खोटाङमा १९ मध्ये १३ उम्मेदवारको जमानत जफत


0
Shares

खोटाङमा कुनैपनि निर्वाचन क्षेत्रमा दुईजनाभन्दा बढीले जमानत जोगाउन सकेका छैनन् ।

खोटाङमा एक प्रतिनिधिसभा र २ प्रदेशसभा गरी तीनओटा सिटका लागि १९ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिनिधिसभातर्फ १० जना उम्मेदवारमध्ये विजयीबाहेक एकजनाकोमात्रै जमानत जोगिएको छ ।

वाम गठबन्धनका विशाल भट्टराई ३५ हजार ३७६ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१३ मत ल्याइन् । बाँकी ८ जनाको जमानत जफत भयो ।

प्रतिनिधिसभामा सबैभन्दा कम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले ४८ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

यसैगरी, प्रदेशसभा ‘क’मा विजयी उम्मेदवारबाहेक एकजनालेमात्र जमानत बचाएका छन् ।

वाम गठबन्धनका राजन राईले १८ हजार ९३३ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४४१ मत ल्याएका थिए ।

पाँचजनाले प्रतिस्पर्धा गरेको यो प्रदेशमा सबैभन्दा कम राष्ट्रिय जनता पार्टी नेपालका तुलसीकुमार राईले १४९ मत ल्याएका छन् ।

यसैगरी, प्रदेशसभा ‘ख’मा विजयी उम्मेदवार र निकटतम् प्रतिद्वन्द्वीलेमात्रै जमानत बचाएका छन् ।

यहाँबाट वाम गठबन्धनका रामकुमार राई (पासाङ)ले १८ हजार ३७२ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत ल्याएर जमानत बचाएका छन् ।

चारजनाले प्रतिस्पर्धा गरेको यो प्रदेशमा नेपाल मालेका कुलप्रसाद शर्मा फुयाँलले सबैभन्दा कम १ हजार ३८ मत ल्याएका छन् ।

जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्नेमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा ६ जनालेमात्र जमानत बचाएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।