२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


स्याङ्जामा बीपीको ‘भनाइ’ मेटिने अवस्थामा, कांग्रेसका मल्लमात्रै सफल


0
Shares

वि.सं. २०४८ सालदेखि नेपाली कांग्रेसले झन्डा फहराउँदै आएको जिल्लालाई वाम गठबन्धनको घेराबाट जोगाउन नेपाल तरुण दलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्लमात्र सफल देखिएका छन् ।

प्रतिनिधिसभातर्फ २ प्रदेशसभातर्फ ४ क्षेत्र रहेको स्याङ्जामा कांग्रेस २ प्रतिनिधिसभा र ३ प्रदेशसभा पराजित भयो ।

०४८ मा ४ क्षेत्र जितेको कांग्रेस ०७४ सम्म आइपुग्दा एक प्रदेशसभामा खुम्चियो ।

कांग्रेसभित्रको चरम गुटबन्दीका कारण ‘कांग्रेसको संगठन हेर्न स्याङ्जामा जाऊ’ भन्ने बीपी कोइरालाको भनाइ अहिले मेटिने अवस्थामा पुग्यो । बीपीको सो भनाइलाई केही हदसम्म जोगाउने तरुण नेता मल्लमात्रै देखिए ।

स्याङ्जा–२ को प्रदेशसभा ‘ख’मा मल्लले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सूर्यप्रसाद गैह्रेलाई १ हजार ५४० मतान्तरले पराजित गरेर स्याङ्जालाई लालकिल्ला हुनबाट जोगाए ।

मल्लले १९ हजार १७० मत पाएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका गैह्रेले १७ हजार ६३० मत पाए ।

स्याङ्जामा दुई प्रतिनिधिसभामा र दुई प्रदेशसभामा एमालेसँगै एक प्रदेशसभामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

स्याङजा निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेका नारायणप्रसाद मरासिनीले ३९ हजार २२६ मत ल्याएर विजयी बनेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजु थापाले २८ हजार ६६२ मत ल्याए ।

स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार पदमा अर्यालले ३५ हजार १४१ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी बहालवाला उपप्रधानमन्त्री एवं कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले ३१ हजार ४३६ मत पाएका छन् ।

यस्तै, ४ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा ३ प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

स्याङ्जा–१ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका उम्मेदवार दीपक घर्तीमगरले १७ हजार ३९२ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद पंगेनीले १४ हजार ६६६ मत पाए ।

प्रदेश ‘ख’मा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले २० हजार २४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका तुलसी गिरीले १४ हजार ५१० मत पाए ।

स्याङ्जा–२ को प्रदेशसभा ‘क’मा एमालेका मोहनप्रसाद रेग्मीले १६ हजार ६१३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पौडेलले १३ हजार १४० मत पाए ।

कांग्रेसको पुरानो विरासत फर्काउने जिम्मेवारी पाएका मल्लले स्याङ्जाको विकासको गतिलाई अगाडि बढाउन भूमिका खेल्ने बताएका छन् ।

स्याङ्जामा २ लाख ३८ मतदाता मध्ये क्षेत्र नम्बर–१ मा ७० हजार ३१४ र क्षेत्र नम्बर–२ मा ६९ हजार ५३६ मत खसेको थियो ।

स्याङ्जामा ६८ प्रतिशत मत खसेको निर्वाचन कार्यालले जनाएको छ । खसेको मतमध्ये करिब ५ हजार मत बदर भएको बताइएको छ ।