२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सोलुखुम्बुमा १२ जना उम्मेदवारको जमानत जफत


0
Shares

सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका १८ मध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार १२ जना उम्मेदवारले मत ल्याउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।

जमानत जफत हुनेमा प्रतिनिधिसभा सदस्यतर्फ पाँच, प्रदेशसभा ‘क’को एक स्वतन्त्रसहित चार र प्रदेशसभा ‘ख’को तीन गरी १२ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा तीनै ठाउँ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्र, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेमकिपा र राजपाका उम्मेदवार थिए भने प्रदेश सभा ‘क’मा वाम गठबन्धबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालसहित एक स्वतन्त्र उम्मेदवारले चुनावमा भाग लिएका थिए ।

यस्तै, प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले भाग लिएका थिए । ६९ हजार ४११ कूल मतदाता रहेको सोलुखुम्बुमा जम्मा ४१ हजार ४५१ मत खसेको थियो । खसेको जम्मा मतमध्ये प्रनितिधिसभा प्रत्यक्षतर्फ एक हजार ८८६ समानुपातिकतर्फ चार हजार ६४९ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले जानकारी दिए ।

यस्त,ै प्रदेशसभा ‘क’मा ३७ हजार १५९ मतदातामध्ये २१ हजार ९५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८४७ र प्रदेशसभा ‘ख’मा ३२ हजार २५२ मतदातामध्ये १९ हजार ४९२ मत खस्दा ७४३ मत बदर भएको छ ।

त्यस्तै, समानुपातिकतर्फ दुवै क्षेत्रका गरी ६ हजार ७६३ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले बताए । रासस