१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दृष्टिविहीन कमला दृष्टिविहीनकै लागि शिक्षाको ज्योति छर्दै, यस्तो छ उनको जीवन संघर्ष


0
Shares

तर २०४९ सालमा सैनपसेलाको भलानेमा जन्मिएकी कमला जप्रेलले तमाम प्रतिकुलतालाई छिचोलेर उदाहरणीय काम गरेकी छन् । आफू दृष्टिविहीन भएर पनि उनले अरु दृष्टिविहीनका लागि शिक्षाको ज्योति छर्दै आएकी छन् ।

उसै त छोरी मान्छेलाई पढाउने चलन थिएन, त्यसमाथि पनि दृष्टीविहिन । घरको आम्दानी र स्रोतले एक महिना पनि खान नपुग्ने चरम गरिबीमाथि ७ छोराछोरीलाई पाल्नुपर्ने बाध्यतामा रहेका अशिक्षित बाबुआमाले कमलालाई पढाउन सक्ने कुरै भएन । सक्षम भए पनि अधिकांश छोरीचेलीहरु घाँस, दाउरा र मेलापातमा रमाउनु पर्ने बाध्यता रहेको यहाँको अवस्थामा उनले कठोर संघर्ष गरिन् र धेरै सवलांग महिलाहरुले गर्न नसकेको काम गरिन् । हाल उनी आफूजस्तै १३ जना दृष्टीविहिन बालबालिकालाई शिक्षाको उज्यालो दृष्टि प्रदान गरिरहेकी छन् ।

कमलाले एक बर्षको उमेरमै दादुरा रोगका कारण दुवै आँखाको ज्योति गुमाइन । बुवा विष्णु मजदुरीको लागि भारत गएका बेला दादुराले थलिएकी उनी आमाको एकल प्रयासमा झारफुक र वैद्यको औषधीले बाँच्न त सफल भइन् तर संसार हेर्ने दृष्टि सदाका लागि गुमाइन् । उनी ३ वर्षको हुँदा आमाको समेत निधन भयो । नियतीले उनको जीवनमा चोट माथि चोट थपिदियो ।

समाजको हेला र परिवारको बोझ भएर बाँच्नु पर्ने बाध्यता उनीमाथि आइलाग्यो । ‘मेरो लागि यो पनि मान्छे हो, यसलाई पनि भोक लाग्दो हो, अरु बच्चाजस्तै खेल्ने मन लाग्दो हो भनेर बुझिदिने कोही थिएन,’ बाल्यकाल स्मरण गर्दै कमलाले भनिन्, ‘९ जनाको परिवारलाई घरको उब्जनीले एक महिना पनि खान पुग्दैन थियो । आँखा देख्नेहरु त अरुको घरमा काम गरेर पनि खान्थे । म कसैले दया गरेर दिए खान्थेँ । नभए भोकै सुत्थेँ ।’

४ जना दाईपछि जन्मिएकी कमलाका दाजुहरु पनि गरिबीका कारण स्कुल पढ्न सक्ने अवस्था थिएन । उनलाई झन् कसले पढाउने ? साथीहरुले स्कुलमा पढेको कुरा सुन्दा उनलाई पनि पढ्ने हुटहुटी भने बाल्यकालमा पनि लागीरहन्थ्यो । यसैबीच छिमेकी गाविस लेकगाउँका शिक्षक जयबहादुर बुढाले घरमै आएर दृष्टिविहिन विद्यार्थीलाई पढाउने स्कुल खुलेको जानकारी दिए । उनले कमलालाई पनि त्यहाँ पढाउन सहयोग गर्ने भन्दै बिष्णुसँग कुरा गरेपछि उनलाई स्कुल पठाउन परिवार राजी भयो ।

‘यसले पढेर भविष्य बनाउँछे भन्ने आशाले भन्दा पनि परिवारको भार हट्छ भनेर मलाई स्कुल पठाए,’ उनले भनिन् । उनले लेकगाउँको बाठपाली प्राविमा ब्रेल लिपीबाट ४ कक्षा पास गरेकी हुन् । पछि उनै जयबहादुर बुढा र दाजुको सहयोगमा कैलालीको कर्णाली माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरिन् ।

एसएलसी पास गरेर गाउँ फर्किएकी उनले आफुले अझै पढ्न चाहे पनि परिवारले असहयोगले चित्त दुखेको बताइन् । ‘बढेकी छोरी कतै इज्जत फाल्ने हो कि भनेर घरकाले मान्दै मानेनन्,’ विगत सम्झिदै उनले भनिन्, ‘भर्ना गर्नका लागि १ हजार रुपैयाँ पनि पाइनँ ।’ तर पनि उनले हिम्मत हारिनन् । साथीहरुसँग पचास÷सय गरेर खर्च मागेर उनले गाउँबाट ४ घण्टा टाढा रहेको दुर्गा उच्च माध्यमिक विद्यालयमा भर्ना भएरै छोडिन् ।

‘भर्ना त भए तर घरका मान्छेले भनेको नमान्ने भए हाम्रो घरमा नबस् भनेर घरबाटै निकालिदिए,’ उनले भनिन्, ‘घर निकाला भएपछि आफन्त पर्ने दिदीले दिएको एक कोठामा ३ महिनासम्म बसेर पढाइलाई निरन्तरता दिएँ, दशैंको दिन त बोलाउछन् कि भनेर सोचेँ तर कसैले बोलाएनन्, दिनभरि रोएरै काटेँ, त्यो दिन मेरो जीवनकै दुःखद थियो ।’

‘स्कुल जान ४ घण्टा र फर्किन ४ घण्टा लाग्थ्यो,’ त्यतिबेला पाएको दुःखको बयान गर्दै उनले भनिन्, ‘अरुको घरमा बस्नुपर्ने, आफैँ खाना पकाएर खानुपर्ने, खानेकुरा पनि कसैले दिएको दिन पकाउथेँ, खान्थेँ नभए भोकै स्कुल जान्थेँ ।’

खानेकुरा भए पनि कति दिन त आगो बाल्न नसकेर भोकै सुतेको उनको भोगाई छ । आर्थिक अभाव, दाउरा पानीको जोहो गर्ने देखि दृष्टिविहीन भएर अरुको सहाराविना पढाइ अगाडी बढाउनुपर्ने चुनौती भोगेकी उनी जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि विचलित भइनन् । आफु पढेर आफुजस्तै दृष्टिविहीनलाई शिक्षाको ज्योति दिने उनको प्रतिज्ञाका अगाडी सबै दुःख र पिडाहरुले हारे । उनी भन्छिन्, ‘दृष्टि नभएका व्यक्तिलाई शिक्षाको दृष्टि दिएर संसार देखाउने मेरो धोको थियो । त्यसका लागि पहिला मैले धेरै पढ्नुपर्छ भन्ने लाग्यो । जस्तो दुःख भए पनि पढ्नु पर्छ भन्ने सोचेँ ।’

‘जहाँ गहिरो त्यही पहिरो’ भनेजस्तै त्यही महिना स्कुल गैरहेको बेला उनी बाटोमा पर्ने भिरबाट लडेर सैनगाड खोलामा खसिन् । मरणासन्न हुने गरी घाइते भएकी उनी ३ महिनासम्म ओछ्यानमा थला परिन् । निको भएपछि उनले पढाईलाई निरन्तरता त दिइन् तर सोचेजस्तो नतिजा आएन । प्रथम श्रेणीमा प्लस टु पास गर्ने लक्ष्य लिएकी उनले दोस्रो श्रेणी मै चित्त बुझाउनु पर्‍यो ।

प्लस टु पास गरेपछि उनले आफुले अक्षर आरम्भ गरेको स्कुल बाठपाली माध्यमिक विद्यालयमा पढाउन पाउँ भनेर निवेदन हालिन् । पारिश्रमिक नभए पनि आफुले दृष्टीविहीनहरुलाई शिक्षाको दृष्टि दिने अवसरमात्र पाए पनि सेवा गर्ने उनको इच्छाशक्ति देखेर दृष्टिविहीन विद्यार्थीलाई पढाउने स्रोत शिक्षक कलक चलाउनेले उनलाई शिक्षिका राख्नका लागि पहल गरे । निजी श्रोतबाट महिनाको २ हजार ५ सय पारिश्रमिक पाउने गरी उनलाई शिक्षिका नियुक्त गर्ने निर्णय विद्यालयले गर्‍यो । यो उनको जीवनको सबैभन्दा खुशीको दिन थियो ।

कठोर संघर्ष, अभाव, पिडा र दुःखपछि प्राप्त गरेको यो अवसरलाई कमलाले राम्रैसँग सदुपयोग गरिन् । २०६८ सालबाट सुरु भएको यो कामबाट उनको परिवारमात्र हैन, समाज समेत खुशी छ । सबैभन्दा खुशी त ती १३ जना दृष्टीविहीन बालबालिका छन्, जसलाई कमलाले एउटा शिपिक्षकामात्र हैन, आमाबाबु दुवैको माया दिएकी छिन् । कमला बझाङका विभिन्न गाउँबाट ब्रेल लिपीमार्फत पढ्न आएका ती बालबालिकासँगै बस्छिन् । पढाइका अलावा बस्ने, खाने, बोल्ने, हिड्ने आदि व्यवहारिक ज्ञानहरु सिकाउँछिन् । विद्यालयभन्दा धेरै टाढाको गाविस दौलिचौरबाट आएकी कक्षा ३ मा पढ्ने दृष्टिविहीन छात्रा धौलीकुमारी बोहरा भन्छिन्, ‘मलाई त घरमा भन्दा स्कुलमा नै रमाइलो लाग्छ । घरमा सबैले गालीमात्र गर्छन् । यहाँ त साथीहरु स“ग खेल्न पाइन्छ । कमला मिसले धेरै माया गर्नु हुन्छ ।’

धौलीजस्तै ४ जना छात्रा र ९ जना छात्र कमलालाई आफ्नो बाबुआमासरह माया र सम्मान गर्छन् ।

विद्यार्थीहरुले मात्र होइन, कमलाले पनि उनिहरुसँग बस्न पाउँदा घर नै बिर्सिएकी छिन् । बिदाको बेला कहिले काहीँ घर गएका बेला उनलाई विद्यार्थी कै चिन्ताले सताउँछ । ‘कोही लडे कि ? खाना खाए कि खाएनन् भनेर चिन्ता लागिरहन्छ,’ आफ्ना भदाभदै भन्दा पनि विद्यार्थीको बढी माया लाग्ने गरेको सुनाउँदै उनले भनिन्, ‘सानो छँदा आफुले दुःख पाएको सम्झिन्छु । यिनीहरुले मेरोजस्तो भोग्नु नपरोस् भनेर सोच्छु ।’

दुर्गम गाउँको महिला, त्यसमा पनि दृष्टिविहीन भएर पनि समाजसेवाको भावनाले न्युन पारिश्रमिकमा सेवा गरेबापत गत बर्ष युनाइटेड मिसन टु नेपाल नामक संस्थाले उनलाई १८ हजार नगदसहित सम्मानित गर्‍यो । यो सम्मानले सेवामा लाग्न झन हौस्याएको कमला बताउँछिन् ।

अंग्रेजी विषय लिएर स्नातक तहमा अध्ययनरत कमला भन्छिन्, ‘मेरो क्षमताले भ्याएसम्म यी बालबालिको लागि काम गर्नेछु ।’