
कुल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेकामा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका १८ जना उम्मेदवारलेमात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए ।
प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ९ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो ।
वाम गठबन्धनबाट नेकपा एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए ।
प्रदेशसभा क्षेत्र नम्बर–२ ‘ख’मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए ।
जिल्लामा कुल दुई लाख ५५ हजार ४५२ हजार मतदाता रहेकामा निर्वाचनमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । त्यसमध्ये एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्