२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने, समानुपातिकतर्फको मतगणना आज सकिदैं


0
Shares

समानुपातिकतर्फको मतगणना आज(आइतबार) सकिने भए पनि सांसद छान्ने प्रक्रिया जटिल भएकाले नामको टुंगो लगाउन करिब दुई हप्ताको समय लाग्ने देखिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुई÷तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी पठाउने बताए ।

त्यसपछि दलहरुलाई एक हप्ता जतिको समय दिएर नाम टुंगो लगाउन दिने तयारी भएको छ । यी प्रक्रिया पूरा गरेपछि मात्र समानुपातिक तर्फबाट चुनिनेहरुको नाम टुंगो लाग्ने उनले बताए ।

समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । अब सर्लाही क्षेत्र नम्बर १ को मात्र मतगणना हुँन बाँकी छ ।

चिसोका कारण शनिबार रोकिएको सर्लाहीको मतगणना आज बिहानैबाट सुरु भएको आयोगले जनाएको छ ।

सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।

मतगणनाको पछिल्लो परिणाममा एमाले ४९ हजार ६५२ मतको अन्तरले अगाडि छ । एमालेले ३१ लाख ६१ हजार २९५ मत हासिल गर्दा नेपाली कांग्रेस ३१ लाख ११ हजार ६४३ मतका साथ उसलाई पछ्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रको पक्षमा हालसम्म १२ लाख ९५ हजार ९०३ मत परेको छ ।

समानुपातिकतर्फको गणनामा सुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललाई पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ ।

अन्तिम परिणाममा राजपा ४ लाख ७० हजार ४८६ मत बटुल्न सफल भएको छ भने संघीय समाजवादी फोरमको पक्षमा ४ लाख ६९ हजार ४६१ मत परेको छ ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।