
अरु मुलुकहरुले व्यवस्थापकीय दृष्टिकोणले धेरै खर्चिलो र झन्झटिलो मानेर प्रान्त र केन्द्रको निर्वाचन एकैपटक सम्पन्न गर्न नसकेको अवस्थामा नेपालले दुवै निर्वाचन एकैदिन सम्पन्न गराएर अन्तर्राष्ट्रियस्तरमा नौलो रेकर्ड कायम गर्न सफल भएको उनको जिकिर छ ।
पूर्वका विभिन्न जिल्लाहरुको निर्वाचनपछिको अवस्था बुझ्नेक्रममा सोमबार खोटाङ सदरमुकाम दिक्तेल आइपुगेका प्रमुख आयुक्त डा. यादवले ऐतिहासिकरुपमा दुवै निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गराउन जनताको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले निर्वाचनमा निर्भिकतापूर्वक सहभागी भएर शान्तिपूर्णरुपमा मतदान गर्ने सबैलाई धन्यवादसमेत दिए ।
प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले निर्वाचनमा भएका सम्पूर्ण निर्वाचनसम्बन्धी गतिविधिहरु प्रमुख आयुक्त यादवलाई जानकारी गराएका थिए ।
खोटाङको निर्वाचनपछिको अवस्था बुझेर सोमबार नै उनी ओखलढुंगाको निर्वाचनपछिको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्