१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या


0
Shares

चालु आवमा प्रसूति गराउन आएका ६जना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँचजनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोखरेल मृत्यु भएकामध्ये तीनजना मुटुको समस्याका कारण र अन्य तीनजनालाई अकस्मात शरीरका विभिन्न अंगहरुले काम गर्न छाडेर मृत्यु भएको बताउँछन् ।

दैनिक १० देखि १२ ओटासम्म प्रसूतिको शल्यक्रिया हुने अस्पतालमा एकाएक समस्या देखिएको उनले बताए ।

पोखरेलका अनुसार शल्यक्रिया गरेको छ÷सात घन्टापछि बिरामीको शरीरमा किटाणु प्रवेश गरेर मिर्गौला, कलेजोलगायतका महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै जाने र मृत्युसमेत हुने गरेको छ ।

गएको मंसिरमा मात्रै तीनजनामा यस्तो समस्या आएकामा एक जनालाई बचाउन सकिएको र अन्य दुई जनाको मृत्यु भएको उनले बताए । यसलगत्तै अस्पतालले औषधि व्यवस्था विभाग र परिवार स्वास्थ्य महाशाखालाई पत्राचार गरी अवस्थाको बारेमा जानकारी गराएको उनले बताए ।

डा.पोखरेलले सरकारले उपलब्ध गराउने औषधिको गुणस्तरको कारण समस्या भएको हुनसक्ने अनुमान गरिएको बताए । उनले भने, ‘सरकारले निःशुल्क उपलब्ध गराएको सलाइन पानीमा खराबी भएको हुन सक्ने अनुमान गरेका छौँ ।’ पछिल्लो समय अस्पतालले चलाउँदै आएको सलाइन पानी हटाएर नयाँ खरिद गरी चलाएको पनि उनले बताए ।

औषधि व्यवस्था विभागको टोलीले निःशुल्क बाँडिएको सलाइनसहितका औषधिको नमूना लगेको पनि विभागीय प्रमुख पोखरेलले बताए । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्तलाई चिकित्सकले औषधि आफँै खरिद गर्न सुझावसमेत दिँदै आएका छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउने तिनै औषधि अन्य बिरामीलाई पनि प्रयोग गरिरहेकाले सलाइनलगायत औषधिका कारण नै समस्या भएको हो होइन एकिन गर्न नसकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा.रुद्र मरासिनीले बताए ।

देशभरका अस्पतालहरुमा तिनै सलाइन र औषधि प्रयोग भइरहेकाले औषधि व्यवस्था विभागमा परीक्षणका लागि लगेको नमूनाको नतिजा आएपछि मात्रै भन्न सकिने उनले बताए ।

सामाजिक सेवा इकाईबाट विपन्न र बीमा गरेका बिरामीहरुका लागि शल्यक्रिया र अन्य उपचारमा तिनै औषधि प्रयोग भएको भएपनि कुनै समस्या भने देखिएको छैन । पोखरेलले डेढ वर्षअघि बुटवलमा र दुई वर्षअघि प्रसूति गृहमा सलाईन पानीकै कारण यस्तो समस्या देखिएको बताए । रासस