काठमाडौं, पुस ३ । काठमाडौं किंग्स–११ लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ललितपुरले काठमाडौंमाथि १ विकेटको झिनो जित निकाल्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले खेलको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा ललितपुरका योगेन्द्रसिंह कार्कीले उक्त चुनौती पार गरे ।
कार्कीले अविजित २८ रन जोड्दा कुशल भुर्तेलले २९ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका प्रदीप साहुले ३ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित् २० ओभरको खेल सकिन एक बल बाँकी छँदा अलआउट हुनुपूर्व १०८ रन जोडेको थियो ।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन जोड्दा सागर पुनले २९ रनको योगदान दिए ।
बलिङतर्फ ललितपुरका पवन शर्राफ र योगेन्द्रसिंह कार्कीले समान ३/३ विकेट लिँदा सन्नी पटेलले २ विकेट झारे ।
जितसँगै ललितपुर इपीएल क्रिकेटको तेस्रो संस्करणको फाइनलमा प्रवेश गर्दा पराजित टोली काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
बुधबार (भोलि) हुने भैरहवा ग्ल्याडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले दोस्रो क्वालिफायार खेल्नेछ ।
जारी प्रतियोगितामा ललितपुरसँग काठमाडौंको यो लगातार दोस्रो हार हो ।








प्रतिक्रिया दिनुहोस्