काठमाडौं, पुस २ । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदारीलाई कायमै राखेको छ ।
नवौं चरणको खेलमा सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै संकटा दोस्रो स्थानमा पुगेको छ ।
संकटाको जितमा एलोन म्याक्सवेल, ताम्पी आर्नेष्ट र दिपेश आलेमगरले १/१ गोल गरे । फ्रेन्ड्सका प्रेजेन तामाङले एक सान्त्वना गोल फर्काए ।
सरस्वती र जावलाखेल बराबरी
सोमबार नै भएको अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो ।
एनआरटी पुछारमै
सोमबारै ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआटी)लाई १–० ले हरायो ।
विश्वास श्रेष्ठले मध्यान्तरअघि गरेको गोल नै हिमालयनलाई ३ अंक दिलाउन महत्वपूर्ण रह्यो ।
जितसँगै हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ ।
चारपटकको लिग च्याम्पियन एनआरटीले भने अझै खेलमा सुधार गर्न सकेको छैन । लिग तालिकामा ९ खेलबाट मात्र १ अंकको एनआरटी पुछारमै छ ।
मनाङ शीर्षमा
८ खेलबाट २४ अंकको मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको संकटा गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।
२१ अंकबाट थ्रीस्टार क्लब तेस्रो, १७ अंकबाट त्रिभुवन आर्मी क्लब चौथो, १४ अंकबाट नेपाल पुलिस क्लब पाँचौं स्थानमा छ । गोलअन्तरमा पछि पर्दै हिमालयन शेर्पा छैटौं स्थानमा छ ।
१३ अंकको च्यासल युथ क्लब सातौं स्थानमा रहँदा समान १० अंकबाट सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती क्रमशः आठौं र नवौं स्थानमा छन् ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्