
निर्वाचनको मतपरिणाम प्रकाशन भएको ३ साताभन्दा पनि बढी बितिसक्दा समेत अझै ९ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार खर्च विवरण पेस गर्ने उम्मेदवारहरुमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी र प्रदेश सभा ‘क’ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका अर्जुन सिंह मडै छन् ।
तीनैजनाले निर्वाचन आयोगको सीमाभन्दा कम खर्च भएको विवरण पेस गरेको निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिए ।
वाणिज्य राज्यमन्त्री चन्दले २४ लाख ३६ हजार ३ सय खर्च गरेको विवरण पेस गरेका छन् । उनले सबैभन्दा बढी खर्च गोष्ठी, कार्यक्रम तथा कार्यकर्ता परिचालनमा ७ लाख ७८ हजार खर्च भएको विवरण पेश गरेका छन् । यस्तै कार्यालय सञ्चालनमा ४ लाख ९५ हजार, सवारी साधनमा ४ लाख ९० हजार, प्रतिनिधि परिचालनमा १ लाख ९५ हजार र प्रचारप्रसार सामग्रीमा ९५ हजार लगायतको अन्य विविध खर्च गरेर २४ लाख ३६ हजार ३ सय खर्च गरेको विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
उता, नेकपा एमालेवाट उम्मेदवार बनेका पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले १७ लाख ४० खर्च भएको विवरण पेश गरेका छन् । भण्डारीले पनि सबैभन्दा बढी खर्च गोष्ठी, कार्यक्रम तथा कार्यकर्ता परिचालनमा भएको उल्लेख गरेका छन् । सो शीर्षकमा ३ लाख ५० हजार खर्च भएको वितरण उनले पेश गरेका छन् । यस्तै प्रचार सामग्रीमा ३ लाख १५ हजार, प्रतिनिधि परिचालनमा २ लाख २५ हजार, सवारी साधनमा २ लाख लगायत अन्य विविध गरी कुल १७ लाख ४० खर्च भएको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश सभा ‘क’मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका अर्जुन सिंह मडैले निर्वाचनको सम्पुर्ण खर्च ४८ हजार भएको विवरण पेश गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख तथा प्रदेश सभा सदस्यका उम्मेदवार १५ लाख सम्म खर्च गर्नसक्ने निर्वाचन आयोगले सिमा तोकेको थियो ।
प्रनिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा(४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४)मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी फुँयालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्