 
	    निजीस्तरमा सन्चालित काठमाडौंका नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाममा बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो ।
दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शैय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षक गैरकानूनीरुपमा १० प्रतिशतभन्दा सेवा शुल्क असुली गरेको पाइएको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यसरी बिरामीसँग अनावश्यकरुपमा बढी रकम असुल गर्ने अस्पताललाई सम्पूर्ण प्रमाणसहित मुद्दा चलाउन आइतबार नै महानगरीय प्रहरी परिसर हनुमानढोकामा नामावली पठाइएको जानकारी दिए ।
‘बिरामीले रु एकलाख बराबरको उपचार गराएको छ भने उसले अस्पताललाई अतिरिक्त रु २५ हजार सेवा शुल्क बुझाएको छ, अस्पतालले बिरामीलाई ठग्ने काम गरेका छन्, उनीहरुका विषयमा सम्बन्धित निकायले पनि आवाज उठाउन आवश्यक छ’, महानिर्देशक दाहालले भने ।
विभागले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन बिएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि वसुन्धारालाई अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो ।
विभागका महानिर्देशक दाहालले भने, ‘हामी आज तिनै ओटा अस्पतालले गैरकानूनीरुपमा बिरामीसँग अतिरिक्त सेवा शुल्क लिइएको पाएपछि कारबाही प्रक्रियाका लागि प्रहरीकामा पठाएका छौँ, स्वास्थ्यमा हामीले कारबाहीका लागि पहिलोपल्ट पठाएका हौँ, अरु अस्पताल पनि छन् ती भोलि पठाउँछौँ ।’
सरकारले व्यवस्था गरेको पाँच प्रतिशत स्वास्थ्य सेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ ।
‘धेरै अस्पतालले बिरामीसँग १३ प्रतिशत स्वास्थ्यकर पनि लिएर अरु शीर्षकमा थप रकम पनि उठाएका छन् भने केही अस्पतालले पाँच प्रतिशत स्वास्थ्य कर पनि नलिएको देखिएको छ त्यो थप शंकाको विषय छ ।’
प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले बिरामीसँगै कुनै सेवा शुल्क नलिएको पाइएको छ । सरकारले अनिवार्य गरेको पाँच प्रतिशत स्वास्थ्य कर पनि किन नलिएको भन्ने अर्को अनुसन्धानको विषय भएको विभागको भनाइ छ ।
विभागले आइतबार नै चौधरी गु्रपको लगानी रहेको अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सलाई पनि गाडीको बिक्रीमा गैरकानूनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ ।
अरुण इन्टर कन्टिनेन्टल टे«डर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानूनी कर जोडेर रु १५ लाख ३२ हजारसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर बिक्री गर्न पाइने भए पनि सो कम्पनीले विज्ञापन खर्च, दुई फरक शीर्षकमा पेट्रोल खर्चलगायत लिइएको पाइएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार उक्त कम्पनीले १३०० गाडी बिक्री गर्दा रु ४३ करोडभन्दा बढी लिएको अनुगमनका क्रममा फेला परेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्