
नुवाकोट, पुस १ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको नुवाकोटको सात तले दरबारको पुनर्निर्माण चैतबाट शुरु हुने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले दरबारको अवलोकनपछि चैत्रबाट पुनःनिर्माण शुुरु हुने जानकारी दिए । पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले चैतबाट दरबारको पुनर्निर्माण गर्नेछ ।
चीन सरकारले दरबार पुनर्निर्माणको लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रियामा रहेको जनाइएको छ ।
पहिलो चरणमा सात तले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतो पाटी निर्माण गर्ने गरी सम्झौता भईसकेको प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
दरबार पुरानै स्वरुपमा पुनर्निर्माण हुनेछ । तीन वर्षदेखि टेकोको भरमा अडिएको दरबार चीन सरकारको सहयोगमा निर्माण हुने भनिए पनि लामो बितिसक्दा पनि निर्माण शुरु भएको छैन । चीनले दरवार पुनर्निर्माणको तिथि पटक पटक सार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्