नविन सिंह
जनकपुर, पुस १ । रामजानकी विवाह महोत्सवका बेला निकै तामझामका साथ सिँगारिएको जनकपुरधाम पुनः दुर्गन्धित भएको छ ।
महोत्सवका बेला करोडौं खर्च गरिएर झिलिमिली बनाइएको जनकपुरधाम अहिले दुर्गन्धित बन्दै गएको हो । तीर्थालुहरुका लागि शौचालयको व्यवस्था गर्न नसक्दा र अन्य व्यवस्थापकीय पक्ष कमजोर हुँदा जनकपुरधाममा पुग्नेहरु पुनः नाक खुम्च्याउन बाध्य भएका छन् ।
निकै भव्यता र हर्षोल्लासका साथ जनकपुरधाममा विवाह महोत्सव सम्पन्न भए पनि भक्तजनको लागि आवश्यक शौचालय, खानेपानी र आवासको व्यवस्थापन राम्रोसँग नगर्दा जनकपुर दुर्गन्धित र प्रदूषित बनेको हो । मेला भर्न आएकाहरुले शौचालयको अभावमा खुला ठाउँमै दिशापिसाब गरेकाले वरपरको वातावरण प्रदूषित बनेको हो ।
महोत्सव रमाइलो भए पनि भक्तजनहरुलाई यहाँका सडक र फोहरका कारण निकै समस्या भएको जन्तीको रुपमा महोत्सवमा आएका महन्थनारायण दासको भनाइ छ ।
दुर्गन्धको कारण जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म, रामानन्दचौक, बस स्ट्याण्ड लगायतका क्षेत्रमा नाक थुनेर हिँडडुल गर्नुपर्ने बाध्यता छ । यहाँको यस्तो अवस्थाले केही दिनअघि प्रदेश सरकारले सुरु गरेकोे जनकपुरधाम स्वच्छ बनाउने अभियानलाई समेत गिज्याइरहेको छ । यो अभियान प्रचारबाजीमै सीमित रहेको कतिपयको टिप्पणी छ ।
महोत्सवमा फितलो व्यवस्थापनका कारण महोत्सवमा भक्तजनले समस्या भोग्नुपरेको साथै नगर पनि प्रदूषित र दुर्गन्धित बनेको प्याब्सन धनुषाका अध्यक्ष विश्वलाल सिंहको टिप्पणी छ ।
हरेक वर्ष हुने महोत्सवमा जनकपुर उपमहानगरपालिकाकै लापरवाहीको कारण यस्तो दुरावस्था आएको स्थानीय राघोलाल कर्णको भनाइ छ ।
मन्दिरजस्तो पावन क्षेत्रमा सरसफाइको राम्रो प्रबन्ध नहुनु आफँैमा लज्जाकोे विषय हो । समयमै फोहोर व्यवस्थापन गरी यहाँको दुर्गन्ध हटाउन सकिएन भने महामारी फैलन सक्ने अवस्था पनि देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्