
सरकारले सबै स्थानीय तहमा बैकिङ पहुँच पुर्याउने घोषणा गरेको भए पनि म्याग्दीका दुई वटा स्थानीय तहमा अझै कुनै पनि बैंकले शाखा स्थापना गरेका छैनन् ।
जसका कारण स्थानीय तहको कारोबार गर्न सदरमुकाम बेनी झर्नुपर्ने बाध्यता छ । म्याग्दीका ६ वटा स्थानीय तह मध्ये धवलागिरि र रघुगंगा गाउँपालिकामा अझै बैंकिङ सुविधा पुग्न सकेको छैन ।
जिल्लाका सबैभन्दा दुर्गम क्षेत्र मानिने गुर्जा, लुलाङ, मुदी, मुना, ताकम र मल्कबाङ क्षेत्रलाई समावेश गरेर बनाइएको धवलागिरि गाउँपालिकाका बासिन्दालाई सामान्य बैंकिङ कामका लागि सदरमुकाम बेनी झर्नुपर्ने बाध्यता छ ।
त्यसैगरी गाउँपालिकामा सञ्चारको समेत सुविधा छैन । त्यसले गर्दा गाउँपालिकाका सबै कामकाजका लागि बेनी नै पुग्नुपर्छ ।
स्थानीय तह गठनपछि सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा हुने गरे पनि दुई/चार हजार रुपैयाँका लागि दुईदिन लगाएर बेनी जानुपर्ने बाध्यताका कारण सर्वसाधारण आक्रोशित बन्ने गरेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल बताउँछन् ।
त्यसैगरी तत्कालीन राखु, भगवति, पाखापानी, झिँ, दग्नाम, चिमखोला र कुईनेमँगले गाविस समेटेर बनाइएको रघुगंगा गाउँपालिकाको चिमखोला र कुईनमँगलेमा भरपर्दो सञ्चार सुविधा छैन ।
यहाँ पनि अहिलेसम्म कुनै पनि बैंकले शाखा स्थापना गरेका छैनन् ।
कारोबारका लागि प्रभु बैंकले शाखा विस्तारको तयारी गरे पनि ढिला हुँदा कार्यालयकै कर्मचारीको तलबभत्ता र उपभोक्ता समितिलाई बेनीस्थित नेपाल बैंकबाटै भुक्तानी गरिँदै आएको गाउँपालिका प्रमुख भबहादुर भण्डारीले बताए ।
वित्तीय पहुँच नहुँदा यी दुई गाउँपालिकाले बेनीमै सम्पर्क कार्यालय खोलेर कार्यसम्पादन गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले स्थानीय तह अस्तित्वमा आए लगत्तै सबै वित्तिय संस्थालाई कुन ठाउँमा कुन बैंक पुग्ने भनेर जिम्मेवारी दिए पनि म्याग्दीमा त्यसको पालना हुन सकेको छैन ।
राष्ट्र बैंकका अनुसार भएका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ३१ मा वाणिज्य बैंकको पहुँच पुगेको छ ।
बाँकी ४ सय २२ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् । म्याग्दीका सबै तहमा शाखा खोल्ने जिम्मा पाएको प्रभु बैंकले आवश्यक प्रक्रिया अघि बढेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्