४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


झापामा १४ लाख रुपैयाँको लागतमा सिरिजंगाको शालिक निर्माण


0
Shares

झापा । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा सिरिजंगा सिं थेवेको शालिक निर्माण गरिएको छ ।

किरात भाषा लिपीका सर्जक र अन्वेषक सिरिजंगा सिं थेवेको सम्मानका लागि स्थानीयकै सक्रियतामा शालिक निर्माण गरिएको हो ।

१४ लाख रुपैयाँको लागतमा ५ फिट ६ इञ्चको पूर्णकदको शालिक निर्माण गरिएको सिरिजंगा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।

शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाबाट १ लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट ८ लाख र स्थानीयबासीबाट ११ लाख ५० हजार गरी २० लाख संकलन भएको बताइएको छ ।

सिरिजंगा ३१५ औं जन्मजयन्तीको अवसर पारेर शालिक अनावरण गरिएको हो । सरकारले सिरिजंगाको तस्बिर अंकित हुलाक टिकटसमेत प्रचलनमा ल्याइसकेको छ ।

सिरिजंगाले चलाएको लिपीलाई नै सिरिजंगा लिपि भनिन्छ । यो किरातहरुको आफ्नो लिपी हो ।

पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुंगामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपी पढाइरहेका बेला टासोङ भिक्षुहरूले सिरिजंगालाई समातेर धुनष काँणले हानेर १७९८ सालमा हत्या गरेका थिए ।

यसअघि सिरिजंगाको शालिक झापाको कनकाई नगरपालिकाको दुर्गापुर र भद्रपुरको पृथ्वीनगरमा समेत निर्माण गरिएको छ ।