
आम हड्तालका कारण बिहानैदेखि धनकुटा बजार बन्द छ भने कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।
बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन् । यद्यपी एम्बुलेन्स, प्रेस, विद्यालय र दुध तथा तरकारी बोकेको सवारी साधनलाई भने अवरोध गरिएको छैन ।
राजधानीको माग राख्दै धनकुटावासी विगत २० दिनदेखि आन्दोलित छन् । पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकामसमेत रहेकोले धनकुटालाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।
धनकुटावासीले धनकुटासँगै प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा समेत पटक–पटक दवावमूलक धर्ना दिइरहेका छन् । धनकुटा २४० बर्ष अघि देखिको प्रशासनिक केन्द्र हो ।
वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित धनकुटा राणाकालीन समयमा वडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था छ । सामर्थ्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवन छन् । अहिले पनि सुरक्षा, ऐतिहासिक पक्ष, भौतिक पुर्वाधार तथा प्रदेशको केन्द्र भाग खोज्ने हो भने प्रस्तावित १४ जिल्लाको केन्द्र धनकुटा नै उपयूक्त रहेको स्थानीयको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्