४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


बिरामीले दिएको चन्दाबाटै विद्यालय संचालन


0
Shares

ध्रुवसागर शर्मा/ईमेज

म्याग्दी । म्याग्दीको वेनी नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय विरामीले दिएको चन्दाबाट संचालन हुँदै आएको छ ।

तातोपानी कुण्डमा रोग पखाल्न आउने विरामीबाट उठाइएको शुल्कले नै  विद्यालयका १० जना शिक्षकले तलब सुविधा प्राप्त गरिरहेका छन् । सरकारले मावि तहका शिक्षकको दरबन्दी नदिएका कारण विद्यालयको भविष्य अन्योलमा परेको छ ।

२०२८ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको बेनी नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहसम्म पढाइ हुँदै आएको छ ।

जसको आर्थिक व्यवस्थापनको स्रोत विरामीबाट उठाइएको चन्दा र शुल्क नै हो ।

प्राकृतिक उपचार केन्द्रको रुपमा चर्चित म्याग्दीको सिंगातातोपानीमा अवस्थित तातोपानी कुण्डमा उपचार गर्न आउने बिरामीले दिएको चन्दा र शुल्कबाट विद्यालयले आफ्नो खर्च धानिरहेको छ ।

सरकारले मावि तह संचालनको स्वीकृति त दिएको छ तर शिक्षक दरबन्दी नदिएका कारण तातोपानी कुण्डको आम्दानीबाट विगत ७ वर्षदेखि ९ जना शिक्षकलाई तलव खुवाइदै आएको सरस्वती माध्यमिक विद्यालयका विद्यालयका पूर्व प्रधानाध्यापक एवम् सूचना अधिकृत नोठवहादुर बानियाँ बताउँछन् ।

अहिलेसम्म त जसोतसो तातोपानी कुण्डको आम्दानीबाट विद्यालय चलिरहेकै छ ।

तर त्यसको आम्दानी कम भएमा वा नगरपालिकाले त्यो आम्दानी दाबी गर्न थालेमा विद्यालय सञ्चालन हुन नसक्ने विद्यालयका प्रधानाध्यापक सुरत बानियाँको भनाइ छ ।

विद्यालयमा कार्यरत १५ जना शिक्षक÷शिक्षिकामध्ये प्रावि तहका ५ जनाबाहेक आधारभूत र मावि तहका सवै १० जना शिक्षकलाई तातोपानी कुण्डको आम्दानीबाट नै तलव उपलब्ध गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्याय बताउँछन् ।

विद्यालयमा राजनीतिक तहका विशिष्ट व्यक्तिदेखि नीति निर्माण तहका उच्च अधिकारीहरु पनि पुगिसकेका छन् ।

तर यहाँको समस्या सम्बोधनका विषयमा खासै पहल भएजस्तो भने देखिँदैन विद्यालयको भविष्यबारे देखिएको चिन्ता सम्बोधनमा सबैको ध्यान जान आवश्यक छ ।