२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


प्रमुख निर्वाचन आयुक्तको प्रश्न–‘प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ?’


0
Shares

नेकपा एमालेका भ्रातृसंगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमन्डलले प्रस्तुत् गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृसंगठनको ध्यानाकर्षण गराए ।

संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उनले संविधान र कानुनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षा गर्न सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने–‘प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेशप्रमुख खोइ ? निर्वाचनको परिणाम आउनेबित्तिकै किन आत्तिनुभएको ? पवित्र उद्देश्यले संविधान र कानुनअनुसार काम गरेको संस्थामाथि लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय हो ।’

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा घोषणा गर्नका लागि काम नसकिएको जनाउँदै उनले कानुनमा स्पस्टरुपमा भएका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यावहारिक नहुने धारणा राखे ।

महिला संघले बुझाएको ज्ञापनपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनको परिणाम घोषणा गरेको एक साता बितिसक्दा पनि एउटै मतपत्रमा गरिएको प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक नभएकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ–‘निर्वाचनको ताजा जनादेशको अवमूल्यन गर्दै जनताबाट लोकप्रिय मतका साथ जनअनुमोदन शक्तिलाई सरकारमा जानबाट रोकेर सत्ता लम्ब्याउन खोज्ने वर्तमान सरकारको अलोकतान्त्रिक योजनामा निर्वाचन आयोग मतियार बनी कलंकको टीका नलगाओस् भनी आग्रह गर्न चाहन्छौं ।’

‘प्रमुख निर्वाचन आयुक्त र आयोगलाई स्वतन्त्र र निष्पक्ष भइ तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरी जनमतको कदर गर्न अनुरोध गर्दछौं’–ज्ञापनपत्रमा भनिएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघमा आबद्ध महिलाको सो अवसरमा सहभागिता थियो । रासस