
काठमाडौं, मंसिर २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शनिबार भएको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मच्छिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रीस्टारले महत्वपूर्ण ३ अंक जोडेको छ ।
थ्रीस्टारको जितमा एकमात्र गोल रन्जित धिमालले खेलको १२औं मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए ।
थ्रीस्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मच्छिन्द्रका डिफेन्डर अन्जन देवकोटाले हातले रोकेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई धिमालले गोल गरेका हुन् ।
जितपछि थ्रीस्टारले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्र ३ अंकसहित तालिकाको १३औं स्थानमा छ ।
आठौं चरणका खेल सकिए
यसैबीच, शनिबारदेखि जारी लिगमा आठौं चरणका खेलहरु सकिएका छन् ।
आठौं चरणसम्म आइपुग्दा मनाङ–मर्स्याङ्दी क्लब शतप्रतिशत नतिजासहित २४ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।
मनाङलाई थ्रीस्टार र संकटा क्लबले पच्छ्याइरहेका छन् । थ्रीस्टार र संकटाको समान २१/२१ अंक छ । उनीहरु अंकतालिकाको क्रमशः दोसो र तेस्रो स्थानमा छन् । रासस
प्रतिक्रिया दिनुहोस्