
सरोज अधिकारी, अक्कल कुँवर र सुरेन्द्र तामाङ (इमेज)
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका महासमिति सदस्यहरुले नेतृत्वले महासमिति बैठकलाई ‘छलछाम’ गर्ने थलोकारुपमामात्र प्रयोग गर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
विधान संशोधनलाई नै मुख्य विषय बनाएर बोलाइएको महासमितिमा साझा सहमतिका साथ विधान आउने अवस्था नदेखेपछि उनीहरुले नेताहरुको कार्यशैली र चरित्रले आफूहरुलाई दिक्क लागेको बताएका छन् ।
महासमिति बैठकको बन्दसत्र आइतबारमात्र सुरु हुनेछ ।
देशैभरबाट आएका महासमिति सदस्यहरु पार्टीलाई सुधार गर्ने लक्ष्य बोकेर काठमाडौं आएको बताइरहेका छन् । तर, नेतृत्वको कार्यशैली उनीहरुलाई पटक्कै मन परेको छैन ।
निर्वाचनमा पार्टी हार्नुमा नेताहरुको कार्यशैलीलाई दोष लगाएका महासमिति सदस्यहरु अहिलेपनि देशको दूरदराजमा कांग्रेसका मृत नेताहरुप्रति जनताको उच्च सम्मान रहेको बताइरहेका छन् ।
नेताहरुको गुटगत स्वार्थका कारण पार्टी नराम्ररी फसेको भन्दै उनीहरुले मृत नेताहरुप्रति जनताको विश्वासलेमात्र कांग्रेस टिकेको भन्दै बाँचेकाहरुले पार्टीको गरिमा जोगाउन नसकेको टिप्पणी गरेका छन् ।
महासमिति बैठकबाट पार्टीलाई सुधार र एकढिक्का बनाएर लाने सपना बोकेर दूरदराजबाट आएका कांग्रेस सदस्यहरु नेताहरुले बन्दसत्रमासमेत पार्टीलाई व्यवस्थित बनाएर लाने ढंगबाट प्रस्तुत् हुनेमा शंका व्यक्त गरिरहेका छन् ।
देशभर ऊर्जा छर्न विधानमा जसरीपनि सहमति खोज्नुपर्ने थियो । तर, नेताहरुले त्यसो नगरेर आफ्नो पक्षको पृष्ठपोषण गर्नमात्र महासमितिलाई प्रयोग गर्न खोजेको भन्दै केही सदस्य दिक्क छन् ।
महासमितिमा पेस हुने पाँचमध्ये चार प्रस्ताव सर्वसम्मत् ढंगबाट केन्द्रीय समितिबाट पारित भइसकेको छ । विधानको विषय अझै टुंगिएको छैन ।
केही ज्येष्ठ सदस्यहरु नेताहरुलाई दबाब दिएर भएपनि महासमितिबाट एकै बनाइने विश्वासमा छन् ।
महासमिति सदस्यहरुलाई पार्टीप्रति जनताको आकर्षण बढाउन नसकेकोभन्दा पनि आफ्नै नेता मिलाउन नसकेकोमा चिन्ता छ ।
उनीहरु कांग्रेसलाई अबको राजनीतिको मियो बनाउन र नेताहरुलाई सुधार गर्न महासमिति सहयोगी हुनेमा झिनो आशावादी छन् ।
प्रतिक्रिया दिनुहोस्