
बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना नदेख्न निर्माणाधीन विद्युत् कम्पनीलाई चेतावनी दिए ।
जलस्रोतको धनी सोलुखुम्बुमा विभिन्न कम्पनीमार्फत विद्युत् उत्पादन हुँदैछ ।
च्याल्सा विद्युत्को मुनाफा ९.७ प्रतिशत कम
सल्लेरी च्याल्सा विद्युत् कंले आव २०७३/७४ मा अघिल्लो आवको तुलनामा ९.७ प्रतिशतले आफ्नो खुद नाफामा कमी आएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आव २०७२/७३ मा रु एक करोड १८ लाख आठ हजार २६५ खुद नाफा कमाउन सफल भएकामा आव ०७३/७४ मा रु ९१ लाख ९७ हजार ७०५ खुद नाफा भएको छ ।
आव २०७२/७३ मा नाजिङ र तोजिङ विद्युत् उपभोक्तालाई विद्युत् वितरण प्रणालीको काम गर्दा मुनाफामा कमी आएको कम्पनीका निवर्तमान कावा अध्यक्ष आङ्दामी शेर्पाले बताए ।
कम्पनीको नयाँ योजना
कम्पनीले निकट भविष्यमै एसएमएसमार्फत विद्युत् महसुलको जानकारी दिइने तथा अनलाइन पेमेन्टमार्फत विद्युत् महसुल भुक्तानी गर्न शुरुआत गर्ने आगामी वर्षको योजना रहेको जनाएको छ ।
छ सय ३३ किलोवाट क्षमताको कम्पनीको अहिले एक हजार ९०० घरधुरीले विद्युत् उपभोग गरिरहेका छन् ।
दैनिक एक घण्टा विद्युत्भार कटौती खेप्नुपरे पनि कम्पनीको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको सेवाग्राही लक्ष्मण श्रेष्ठले बताए ।
अध्यक्षमा डा शेर्पा
च्याल्सा विद्युत् कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्षमा डा मिङ्मार ग्याल्जेन शेर्पा सर्वसहमतिले चयन भएका छन् ।
साधारणसभाको बन्दसत्रले सञ्चालक समिति सदस्यमा आङ्दामी शेर्पा र दोर्जी शेर्पालाई चयन गरेको छ ।
अन्य सञ्चालक समिति सदस्य भने नेपाल विद्युत् प्राधिकरणबाट मनोनयन गर्ने कम्पनीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्