१ असार २०८२, आइतबार | Sun Jun 15 2025


उत्तर कोरियाले पनि पठायो दक्षिणलाई वार्ता टोलीको नाम


0
Shares

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार जानकारी दिएको छ ।

सो मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सिधा सन्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको हो ।

यसअघि पनि हिजो शनिबारमात्र दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पनि उत्तरको जानकारीका लागि पठाएको थियो

सो नामपछि उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण कोरियाको जानकारीका लागि पठाइने अपेक्षा गरिएको थियो । सो अपेक्षा बमोजिम नै उत्तरले पनि आइतबार सो नामावली पठाएको जनाएको छ ।

आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाए बमोजिम नै आज सो नामावाली प्राप्त भएको छ ।

उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो नामावाली दक्षिणलाई उत्तरले पठाएको छ । गाउनको नेतृत्वमा सहभागी हुने पाँच जना सदस्यको नाम नै उत्तरले सार्वजनिक गरेको हो ।

उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलोपटक गत बुधबारमात्र पुनःस्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मंगलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । सोही बमोजिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि परिस्थिति फेरिएको छ । उनको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।

सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरूको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी, उत्तर कोरियाले पनि आफ्नातर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ । (रासस/एएफपी)