४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025


हेलो सरकारः दीर्घकालीन र नीतिगत गुनासोहरु सम्बोधन हुँदैन (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, मंसिर २८ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ सालमा सर्वसाधारणको गुनासो सुन्नका लागि सन्चालनमा ल्याइएको हेलो सरकारमा हालसम्म ८६ हजार ३०० गुनासो पुगेका छन् ।

अहिलेपनि सर्वसाधारणका निजी समस्यादेखि राजनीतिक घटनाक्रमसम्मका दैनिक ७० भन्दा बढी गुनासो हेलो सरकारमा पुग्ने गरेको छ ।

प्रधानमन्त्री कार्यालयअन्र्तगत् रहेको हेलो सरकारमा २०६८ साल कात्तिकदेखि २०७४ साल मंसिरसम्म ६७ हजार ६१२ गुनासो टिपिएको छ ।

गत वर्षको पुसदेखि ०७५ मंसिरसम्ममात्रै १८ हजार ५९८ ओटा गुनासा आएका छन् ।

२०६८ देखि २०७४ सम्म ८१ प्रतिशत गुनासोको सम्बोधन भएको देखाइएको छ भने २०७४ देखि ७५ मंसिरसम्म २४ प्रतिशत गुनासो फर्छ्योट भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सर्वसाधारणले फोन, सामाजिक सन्जाल र इमेलबाट समस्या टिपाउने व्यवस्था मिलाइएको छ । सबैभन्दा बढी गुनासो भने सामाजिक सन्जालबाट आउने गरेका छन् ।

राजनीतिक नेतृत्व र राजनीतिसँग जोडिएका गुनासो दर्ता नै नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

हेलो सरकारमा हाल १५ जना कर्मचारी कार्यरत् छन् ।

आफूले टिपाएको गुनासोको सम्बोधन चरण कहाँ पुगेको छ भन्ने व्यवस्थासमेत मिलाइएको उपसचिव उपाध्यायले जानकारी दिए ।

ग्रामीण क्षेत्रको तुलनामा सहरी इलाकाबाट धेरै गुनासो आउने गरेका छन् । प्रदूषण, सडक, खाल्टाखुल्टीलगायतका विषय बढी आउने गरेका छन् ।

ग्रामीण क्षेत्रबाट भने अंशबन्डा, झै–झगडादेखि खानेपानी, स्वास्थ्यचौकी, विद्यालयसँग जोडिएका गुनासो आउने गरेका छन् ।

गृह, संघीय मामिला, स्वास्थ्य, शिक्षा मन्त्रालय, नेपाल टेलिकम र विद्युत् प्राधिकरणसँग जोडिएका गुनासो बढी आउने गरेका छन् ।

प्रधानमन्त्रीसँग जोडिएका गुनासो भने प्रधानमन्त्रीको सम्पर्क शाखामा पठाइने गरिएको छ ।

दीर्घकालीन र नीतिगत गुनासोहरुको भने सम्बोधन हुने गरेको छैन ।

सरकारकासामु सर्वसाधारणका समस्या पुगून् भन्ने उद्देश्यले सुरु गरिएको हेलो सरकारले सर्वसाधारणका गुनासो सम्बन्धित मन्त्रालयमा पुर्‍याउनेबाहेक सम्बोधनका लागि अरु पहल भने गर्न सकेको छैन ।

भिडियो हेर्नुहोस्