
प्रकाश मैनाली
सर्लाही, मंसिर २८ । सर्लाहीमा केही दिनदेखि जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन् । जंगलमा खानेकुरा र बासस्थानको अभावका कारण हात्ती गाउँतिर पस्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका हुन् ।
रातको समयमा हात्तीले घर भत्काइदिने, अन्नपात खाइदिने र ज्यानै लिनेसम्मका हर्कत गर्ने डरले स्थानीयलाई ठूलो समस्या परेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाका विभिन्न बस्तीमा हात्ती पसेर आतंक मच्चाएपछि स्थानीयहरु त्रसित बनेका हुन् । जुनसुकै बेला आएर हात्तीले विनास गर्ने भएकाले कतिपय त रातीमा समेत निदाउन सकिरहेका छैनन् । दिनभरी नजिकैको जंगलमा बसे पनि रात परेपछि बस्ती बस्तीमा हात्तीको समूह छिरेर घरमा क्षति पुर्याउने र भएको अन्नपात खाने गरेकाले खानेकुरा समेत अभाव भएको पीडित स्थानीयको गुनासो छ ।
रातको समयमा हात्तीको भय हुने भएकाले स्थानीयबासी दिउँसो सुत्ने र रातमा जाग्राम बस्ने गरेका छन् । हात्तीबाट बच्न समूह बनाएर बस्ने, भाँडा ठटाउने, आगो बाल्ने, पट्का पड्काउने गरेको स्थानीयको भनाइ छ ।
हात्तीको भयले जंगलमा घाँसदाउरा काट्न जानसमेत समस्या भइरहेको छ । सबैजना मिलेर हात्तीलाई धपाउने प्रयास पनि भइरहेको छ । प्रहरी, वनका कर्मचारी र गाउँले मिलेर हात्ती धपाउनुपर्ने र हात्तीले मन पराउने जाँड रक्सी सकेसम्म प्रयोग नगर्न डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवल सुझाव दिन्छन् ।
प्रतिक्रिया दिनुहोस्